नेपालको मौलिक संस्कार–संस्कृतिमाथि विदेशी हस्तक्षेप रोक्नुपर्छ : ओम पाथीभरा माता

समाचार

काठमाडौं । नेपालमा वैदिक सनातनी संस्कार र संस्कृतिको अपव्याख्या गरी प्रहार भएकोले त्यसमा जागरणको खाँचो रहेकोमा वक्ताहरुले जोड दिएका छन् । आइतबार राजधानीमा ‘ॐ पाथीभरा नेपाल आमा’ले पत्रकार सम्मेलनको आयोजना गरी वैदिक सनातन सबैको संरक्षक भएकोसमेत दबी गरेका छन् ।

पाथीभराकी कर्ता पुस्तादेवि तामाङले नेपाल वैदिक सनातनको उद्गम स्थल भएको र यहाँको मौलिक धर्म–संस्कृतिमाथि सुनियोजितरुपमा विदेशी हस्तक्षेप भइरहेकोले नेपालीहरु जागरुक हुनुपर्ने जनाइन् । तामाङले असार १५ देखि २५ गतेसम्म काठमाडौं, भक्तपुर र ललितपुरमा ६४ योगिनीद्वारा रिलेअनसन तथा क्षमा पुजा गर्ने जनाईन् ।

तामाङले धार्मिक विधिबाट ज्योतिर्लिङ्ग ६४ ब्राह्मणद्वारा पूजापाठ हवन, मातृ शक्तिद्वारा ३३ शक्तिपीठको हवन पूजन र असार २५ गते महाबलि सहित प्रसाद ग्रहण गर्न आह्वन पनि गरिन् ।

सो कार्यक्रममा गुरु नवराजले नेपालको वैदिक सनातन धर्मलाई कमजोर बनाउनमा नेपालका शासकहरुको ठूलो हात रहेको दाबी गरे । ‘नेपालको मौलिक संस्कार र संस्कृतिले सबै धर्म र संस्कृतिलाई संरक्षण गरेको थियो त्यसलाई मास्न किन उदृत छन् शासकहरु’, नवराजले भने ।

संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्र नेपालकी अध्यक्ष सीता सनुवारले नेपालको मौलिक पहिचनको रुपमा रहेको वैदिक सनातन धर्मलाई जोगाउँदा सबैको भलो हुने बताइन् । अभियान्ता विक्कि राणाले नेपालको वैदिक सनातन धर्मले छुवाछुत र अन्याय नगर्ने बरु विदेशीहरुले त्यसलाई मास्न षड्यन्त्र गरिरहेको आरोप लगाए ।