विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आज विराटनगरमा प्रदेशस्तरीय भेला आयोजना गर्दै पार्टी नेतृत्वमाथि दबाब सिर्जना गर्ने तयारी गरेको छ ।
कोशी प्रदेशका १४ वटै जिल्लाका अगुवा कार्यकर्ताको सहभागिता रहने भनिएको उक्त भेलालाई कांग्रेस नेता डा।शेखर कोइराला, कृष्णप्रसाद सिटौला र विजयकुमार गच्छदारले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
तीन शीर्ष नेता एउटै मञ्चमा उपस्थित हुने भएपछि भेलालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

कोशी प्रदेश कांग्रेसका महामन्त्री समेत रेका नेता भूपेन्द्र राईले पार्टीभित्र देखिएका सांगठनिक कमजोरी सच्याउन र नेतृत्वलाई कार्यकर्ताको भावना बुझाउन दबाब दिन भेला आयोजना गरिएको बताएका छन् ।
पूर्व मुख्यमन्त्री केदार कार्कीले हाल भइरहेको क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले प्रक्रिया प्राविधिक रूपमा त्रुटिपूर्ण रहेको दाबी गर्दै यसले पार्टीको छविमा नकारात्मक असर पार्न सक्ने बताएका छन् ।
इतर समूहले सातै प्रदेशमा नेतृत्वका विरुद्ध दबाब सृजना गरिरहेका छन् । कांग्रेसको क्रियाशीलता अद्यावधिक गर्ने समय सकिए पनि सो समूहका नेताहरूले भने अद्यावधिक गराएका छैनन् ।
