कर्णाली प्रदेशमा कृषि उत्पादन घट्दै, वैदेशिक रोजगारीमा जाने ३० हजारभन्दा बढी

Headlines आर्थिक

कर्णालीमा खाद्यबालीको उत्पादन बढे पनि समग्र कृषि उत्पादन ०.६५ प्रतिशतले घट्यो, खेतीपातीमा संलग्न जनशक्ति र उत्पादनको अवस्थामाथि प्रश्न

काठमाडौं । कर्णाली प्रदेशमा खाद्यबालीको उत्पादन बढे पनि समग्र कृषि उत्पादन घटेको छ । अर्कोतर्फ, यही अवधिमा प्रदेशबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या ३० हजार नाघेको छ । यसले कृषि उत्पादनमा देखिएको संकुचन र रोजगारीका लागि बाहिरिने जनशक्तिको अवस्थालाई एकसाथ उजागर गरेको छ ।

नेपाल राष्ट्र बैंकको कर्णाली प्रदेशसम्बन्धी आर्थिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा प्रदेशको समग्र कृषि बाली उत्पादन अघिल्लो वर्षको तुलनामा ०.६५ प्रतिशतले घटेको छ । तर, खाद्य, नगदे तथा अन्य बालीको उत्पादन भने ३.५५ प्रतिशतले बढेको छ ।

खाद्यबालीले ओगटेको क्षेत्रफल ०.५४ प्रतिशतले बढे पनि धानखेतीको क्षेत्रफल २.९४ प्रतिशतले घटेको छ । मकै, गहुँ, कोदो, जौ र फापरले ओगटेको क्षेत्रफल भने क्रमशः ०.३१, ०.२५, ०.२५, ११.१७ र २.४९ प्रतिशतले बढेको छ ।

उत्पादनतर्फ धान ६.७६ प्रतिशत, मकै ०.२५ प्रतिशत, गहुँ २.५० प्रतिशत, कोदो ०.३४ प्रतिशत, जौ १३.७४ प्रतिशत र फापर २.५१ प्रतिशतले बढेको छ । खाद्यबालीको उत्पादन बढे पनि तरकारी तथा बागबानी बालीको उत्पादन ३.७६ प्रतिशत र फलफूल खेतीको उत्पादन ४.०५ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ ।

कृषि क्षेत्रमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जा कुल कर्जाको ७.२७ प्रतिशत रहेको छ । प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ३१.५२ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । समग्र प्रदेशको आर्थिक वृद्धिदर भने २.९४ प्रतिशत रहने अनुमान गरिएको छ ।

वैदेशिक रोजगारीमा जाने ३० हजार ४९०

कृषि उत्पादनमा संकुचन देखिएको अवधिमा कर्णालीबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या ३० हजार ४९० पुगेको छ । आर्थिक वर्ष २०८२/८३ को साउनदेखि असार मसान्तसम्म उक्त संख्याले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्यांकलाई उद्धृत गर्दै प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रदेशमा उद्योगको औसत क्षमता उपयोग ३०.९८ प्रतिशत मात्रै रहेको छ । नमुना छनोटमा परेका उद्योगमध्ये राडीपाखी उत्पादनसम्बन्धी उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ६६.६७ प्रतिशत छ भने प्रशोधित दूध उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा कम १०.१९ प्रतिशत छ । बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जामध्ये औद्योगिक कर्जाको हिस्सा ७.२४ प्रतिशत रहेको छ ।

सेवा क्षेत्रमा प्रवाह भएको कर्जा भने अघिल्लो वर्षको तुलनामा ८.३४ प्रतिशतले बढेको छ । प्रदेशमा प्रवाह भएको कुल कर्जामध्ये ८५.२१ प्रतिशत सेवा क्षेत्रमा गएको प्रतिवेदनले देखाएको छ ।

पर्यटन क्षेत्रमा पनि संकुचन देखिएको छ । समीक्षा वर्षमा कर्णाली घुम्न आउने बाह्य पर्यटकको संख्या २७.६८ प्रतिशतले घटेको छ । भारतबाट आउने पर्यटक ४६.३९ प्रतिशत, चीनबाट आउने ६७.६० प्रतिशत र अन्य मुलुकबाट आउने पर्यटक ३९.३९ प्रतिशतले घटेका छन् ।

२०८३ असार मसान्तसम्म प्रदेशमा बैंक तथा वित्तीय संस्थाका शाखा संख्या ४८१ पुगेका छन् । प्रदेशको कर्जा–निक्षेप अनुपात ६०.१५ प्रतिशत रहेको छ ।

कर्णालीको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ३१.५२ प्रतिशत छ । उद्योगको योगदान १०.०७ प्रतिशत र सेवा क्षेत्रको योगदान ५८.४१ प्रतिशत रहने प्रारम्भिक अनुमान छ ।