ECB मा Leadership Shake-up: कार्यकाल सकिनु ९ महिनाअघि नै क्रिस्टिन लेगार्डले पद छाड्दै

Headlines अन्तराष्ट्रिय

काठमाडौं । युरोपेली केन्द्रीय बैंक (इसिबी) की अध्यक्ष क्रिस्टिन लेगार्डले निर्धारित कार्यकाल सकिनुभन्दा नौ महिनाअघि नै पद छाड्ने भएकी छन् । आठ वर्षे कार्यकाल सन् २०२७ अक्टोबर ३१ मा सकिने भए पनि उनले आगामी फेब्रुअरी ७ मै अध्यक्ष पद त्याग्ने तयारी गरेकी हुन् ।

लेगार्डको निर्णयले युरोपेली संघ (इयु) का नेताहरूलाई सन् २०२७ मा हुने फ्रान्सको राष्ट्रपतीय निर्वाचनअघि नै नयाँ अध्यक्ष चयन गर्ने अवसर दिनेछ । फ्रान्सको निर्वाचनमा दक्षिणपन्थी उम्मेदवार मरिन ले पेन विजयी भएमा नयाँ अध्यक्ष नियुक्ति प्रक्रियामा पर्न सक्ने राजनीतिक प्रभावलाई ध्यानमा राखेर समयअघि नै नेतृत्व परिवर्तन गर्न खोजिएको विश्लेषण गरिएको छ ।

सत्तरी वर्षीया लेगार्डले इसिबीको नेतृत्व गर्न पाउनुलाई गर्व र सौभाग्यको विषय बताएकी छन् । उनले पदसँग जोडिएको राजनीतिक तटस्थताको दायित्वबाट मुक्त भएर मौद्रिक नीतिबाहेकका विषयमा पनि स्वतन्त्र रूपमा बोल्न चाहेको बताएकी छन् ।

इसिबीले युरो प्रयोग गर्ने २१ देशको मौद्रिक नीति र ब्याजदर निर्धारण गर्छ । यसले घर खरिद, उद्योग स्थापना तथा व्यवसाय सञ्चालनका लागि लिइने ऋणको लागतमा प्रत्यक्ष प्रभाव पार्छ । त्यसैले अध्यक्ष परिवर्तनको निर्णयलाई युरोपेली अर्थतन्त्र र वित्तीय बजारले चासोका साथ हेरेका छन् ।

युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाले नयाँ अध्यक्ष चयन प्रक्रिया तत्काल अघि बढाइने बताएका छन् । इसिबीका मुख्य अर्थशास्त्री फिलिप लेनको कार्यकाल आगामी मे ३१ मा सकिँदैछ भने कार्यकारी बोर्डकी सदस्य इसाबेल श्नाबेलले जनवरी ३ मा पद छाड्नेछिन् । यससँगै बैंकका तीन वरिष्ठ पदमा नियुक्ति गर्नुपर्ने अवस्था आएको छ ।

बेरेनबर्ग बैंकका प्रमुख अर्थशास्त्री होल्गर स्मिडिङका अनुसार युरोपेली संघका नेताहरूले डिसेम्बर १७–१८ मा हुने शिखर सम्मेलनअघि नै तीन पदमा नियुक्तिका लागि सहमति जुटाउने प्रयास गर्न सक्छन् ।

इसिबी अध्यक्षका सम्भावित उम्मेदवारमा नेदरल्यान्ड्सको केन्द्रीय बैंकका पूर्वप्रमुख क्लास नट र बैंक फर इन्टरनेसनल सेटलमेन्ट्सका महाप्रबन्धक पाब्लो हर्नान्डेज डे कोसको नाम चर्चामा छ । स्मिडिङका अनुसार फ्रान्समा ले पेन विजयी हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै राष्ट्रपति इमानुएल म्याक्रोन पदमा रहँदै नयाँ अध्यक्ष चयन गर्ने प्रयास भइरहेको छ ।

सन् २०१९ मा मारियो द्राघीको उत्तराधिकारीका रूपमा नियुक्त भएकी लेगार्डको कार्यकालमा इसिबीले कोभिड–१९ महामारीका बेला युरोपेली अर्थतन्त्रमा ऋण प्रवाह कायम राख्न ठूलो आपत्कालीन ऋणपत्र खरिद कार्यक्रम सञ्चालन गरेको थियो । सन् २०२० मा सुरु गरिएको उक्त कार्यक्रमअन्तर्गत १ हजार ३५० अर्ब युरो बराबरका ऋणपत्र खरिद गरिएको थियो ।

यसअघि सन् २०१२ मा तत्कालीन इसिबी अध्यक्ष मारियो द्राघीले युरोको रक्षा गर्न आवश्यक सबै कदम चाल्ने प्रतिबद्धता जनाएका थिए । युरोजोन ऋण सङ्कटका कारण वित्तीय बजारमा देखिएको अस्थिरता कम गर्न उनको प्रतिबद्धताले महत्त्वपूर्ण भूमिका खेलेको थियो ।

लेगार्डको पदत्यागको घोषणाले इसिबीको ब्याजदर निर्णयलाई समेत ओझेलमा पारेको छ । अमेरिकाको इरानसँगको युद्धका कारण तेलको मूल्य बढेसँगै युरोपको वार्षिक मुद्रास्फीति दर ३.८ प्रतिशत पुगेको विवरणमा उल्लेख छ । तर, इसिबीले प्रमुख ब्याजदर २.५ प्रतिशतमा यथावत् राखेको छ ।

इसिबीको मुद्रास्फीति लक्ष्य २ प्रतिशत हो । मुद्रास्फीति नियन्त्रण गर्न ब्याजदर महत्त्वपूर्ण औजार भए पनि ऋणपत्र बजारमा बढिरहेको ब्याजदरले निजी क्षेत्रका लागि ऋण महँगो बनाएको विश्लेषकहरूको भनाइ छ । यस्तो अवस्थामा नेतृत्व परिवर्तन र मौद्रिक नीतिको निरन्तरताले युरोपेली अर्थतन्त्रमा पार्ने प्रभावलाई चासोका साथ हेरिएको छ ।