पानीजन्य दुर्घटना रोक्न रास्वपाका सांसद गजुरेलको सरकारलाई ध्यानाकर्षण

Headlines राजनीति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आशिष गजुरेलले पानीमा डुबेर हुने मृत्युका घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपालमा पानीजन्य दुर्घटनाबाट हुने मृत्यु चिन्ताजनक रहेको बताए । नेपाल प्रहरीको तथ्यांकअनुसार हरेक वर्ष करिब ४ सय जनाको डुबेर वा बगेर मृत्यु हुने गरेको उल्लेख गर्दै उनले विश्व स्वास्थ्य संगठन को अनुमानअनुसार यो संख्या वार्षिक १५ सयसम्म पुग्न सक्ने बताए ।

उनले भने, ‘नेपाल प्रहरीको तथ्यांक अनुसार वर्षनी करिब ४ सय जनाको पानीमा डुबेर अर्थात बगेर मृत्यु हुन्छ भने विश्व स्वास्थ्य संगठनको तथ्यांक हेर्ने हो भने वार्षिक रुपमा १५ सय सम्मको मृत्यु हुने अनुमान गरिएको छ । पीडितमध्ये आधाभन्दा बढी २५ वर्ष मुनिको युवा र बालबालिका छन् ।’

उनका अनुसार पीडितमध्ये आधाभन्दा बढी २५ वर्षमुनिका युवा तथा बालबालिका रहेका छन् । उनले गत जेठ १० गते सिन्धुली जिल्ला को सुनकोशी गाउँपालिका–५ सित्खा स्थित सुनकोशी नदीमा डुबेर ९ वर्षीय सफल पुलामी मगर र १० वर्षीय युकेश विकको मृत्यु भएको घटनालाई स्मरण गर्दै यस्तो दुर्घटनाले जनचेतना, सुरक्षा व्यवस्था र पूर्वसतर्कतामा कमी रहेको स्पष्ट देखाएको बताए ।

उनले भने, ‘गत जेठ १० गते सिन्धुली जिल्लाको सुनकोशी ५ सित्खामा सुनकोशी नदीमा डुबेर दुई नाबालक सफल पुलामी मगर, युकेश विक १० वर्षका उनको दुखत निधन भयो । यसमा जनचेतना, सुरक्षा, व्यवस्था र पूर्व सर्तकताको कमि स्पस्ट देखाउँछ । विद्यालय, अभिभावक, स्थानिय तह र समुदायले बालबालिकाको पानीजन्य जोखिमबारे सचेत गराउनुपर्छ । जोखिमयुक्त क्षेत्रमा चेतावनी बोर्ड, बार सुरक्षा व्यवस्था तथा जनतेतना मुलुक कार्यक्रम प्रभावकारिताका साथ सञ्चालन गर्नुपर्छ ।’

सांसद गजुरेलले विद्यालय, अभिभावक, स्थानीय तह र समुदायले बालबालिकालाई पानीजन्य जोखिमबारे सचेत गराउनुपर्ने आवश्यकता औंल्याए । साथै जोखिमयुक्त क्षेत्रमा चेतावनी बोर्ड, बार तथा सुरक्षा व्यवस्था गर्न र जनचेतनामूलक कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न सरकारसँग माग गरे ।