२०८३ बैशाख २८

टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

कर्पोरेट

काठमाडौं । टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले गत वैशाख २३ गतेदेखि निष्कासन खुला गरेको साधारण सेयरमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरी बाँडफाँड गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर बिक्री खुला गरेको हो ।

कम्पनीले सर्वसाधारणका लागि २५ लाख १५ हजार ४५५ कित्ता साधारण सेयर सार्वजनिक निष्कासन गरेको छ । कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत बराबर ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ मूल्यको ४२ लाख ३० हजार ६६८ कित्ता साधारण सेयर सर्वसाधारणमा जारी गर्न अनुमति पाएको थियो ।

जसमध्ये १२ लाख कित्ता सेयर भोजपुर जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि निष्कासन गरिएको थियो भने ३ लाख ३ हजार ६७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि छुट्याइएको थियो । त्यसैगरी १ लाख ५१ हजार ५३३ कित्ता सेयर सामूहिक लगानी कोषका योजनाहरूका लागि सुरक्षित गरिएको कम्पनीले जनाएको छ ।

सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत दिन सकिनेछ । साथै, लगानीकर्ताले मेरो सेयर मार्फत पनि आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।