पर्यटन क्षेत्रलाई पुर्नजीवित गर्न १० वर्षे रणनीतिक अवधारणा ल्याइने: मन्त्री भट्टराई

विविध

काठमाडौँ, वैशाख २५ ,  सरकारले कोभिड–१९ बाट प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्रको पुनःस्थापनाका लागि आगामी आर्थिक वर्षमा पर्यटन दशकसम्बन्धी विशेष कार्यक्रम ल्याउने भएको छ ।

सिंहदरबारमा आज आयोजित कोभिड–१९ पछिको पर्यटन र आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति कार्यक्रममा समेटिने पर्यटन विकासका योजना कार्यक्रमबारे सञ्चारकर्मीसँगको अन्तक्र्रियामा सन् २०२१ देखि २०३० सम्मको अवधिलाई पर्यटन दशकका रुपमा अघि बढाइने जानकारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले दिनुभयो ।

उहाँले पूर्वघोषित नेपाल भ्रमण वर्ष–२०२० कार्यक्रम पनि कोभिड–१९ का कारण स्थगित भइसकेको सन्दर्भमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा १० वर्षे पर्यटन रणनीतिलाई प्राथमिकताका साथ अघि बढाइने बताउनुभयो ।

मन्त्री भट्टराईका अनुसार सामान्यतः सन् २०२० ‘सर्भाइबल’ वर्ष हुनेछ भने सन् २०२१ ‘रिभाइबल’ र सन् २०२२ देखि पर्यटन सामान्य अवस्थामा फर्कने आँकलनसहित रणनीति बनाइएको छ । यो भनेको सन् २०३० सम्मको अवधिमा कुनै न कुनै विधालाई प्राथमिकता दिएर पर्यटकीय गतिविधि सञ्चालन गरिनेछ ।

पर्वतीय पर्यटन, पर्या पर्यटन, जल पर्यटन, धार्मिक पर्यटन, खेलकुद पर्यटन, स्वास्थ्य पर्यटन र शिक्षा पर्यटनलाई प्रवद्र्धन गर्नेगरी नीति तथा कार्यक्रममा समेटिनेछ । साथै कोभिड–१९ बाट प्रभावित श्रमिक तथा व्यवसायीको हितमा पुनःस्थापनाका प्याकेजल्याइने जनाइएको छ ।

पर्यटनमन्त्री भट्टराईले अहिले पर्यटन उद्योगका श्रमिकलाई व्यवसायीले निकाल्न नपाउने र उनीहरुलाई सम्बोधन हुनेगरी सरकारले पनि केही सहयोग गर्ने सोच बनाएको भन्दै साझेदारीका साथ अघि बढ्ने बताउनुभयो ।

‘लगानीमा साझेदारी, प्रतिफलमा हिस्सेदारी’ को अवधारणासहित प्रदेश र स्थानीय तहसँग लगानी पनि साझेदारी गर्ने र प्रतिफललाई पनि बाँडफाँड गर्नेगरी योजना बडाइएको उहाँले जानकारी दिनुभयो ।

सरकारले प्रदेश तथा स्थानीय तहसँगको साझेदारितालाई बढाउँदै पर्यटन प्रवद्र्धनका लागि सातवटै प्रदेशमा ठूला–ठूला पर्यटकीय गन्तव्यमा लगानी गर्ने भएको छ । उहाँले सात प्रदेशका ठूला गन्तव्यको पूर्वाधारमा लगानी गर्ने गरी प्रस्ताव गरिएको जानकारी दिनुभयो । ती गन्तव्यको छनोट प्रदेश सरकारसँगको सहमतिमा गरिने र निर्माणको काम पनि साझेदारितामा अघि बढ्ने उहाँको भनाइ छ । त्यसैगरी आगामी वर्षको नीति कार्यक्रममा ‘ग्रेट हिमालयन ट्रेल’, पदमार्ग, गढी किल्लाको संरक्षण र पर्यटन विकास, सांस्कृतिक पदमार्गको विकास गरिनेछ ।