देश कोरोनाको संकटसँग लडिरहेका बेला एक वर्षअघि स्थापना भएको नेपाल पानी जहाज कार्यालयले डेढ करोड रुपैयाँ पर्ने गाडी किन्ने भएको छ ।
२०७५ फागुनमा ललितपुरको एकान्तकुनामा १६ जना कर्मचारीको दरबन्दी सहित स्थापना भएको पानी जहाज कार्यालयले कोरोना संकटको बेलामा एक करोड ४३ लाख ९८ गाडी किन्ने प्रक्रिया अन्तिम अवस्थामा पुर्याएको हो । यो कार्यालयले गाडी किन्नका लागि आह्वान गरिएको बोलपत्र स्वीकृत गर्ने आशयको सूचना बुधबार प्रकाशित गरेको छ ।
पानी जहाज सञ्चालनका लागि हालसम्म कार्यालय खोल्ने सामान्य सम्भव्यता अध्ययनबाहेक अन्य काम हुन सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीको आफ्नै पानी जहाज सञ्चालन गर्ने योजना अनुरुप खोलिएको कार्यालय पछिल्लो समय काम विहिन झैं बन्न पुगेको छ । कोरोना कहरले अर्थतन्त्र ओरालो लागेको अवस्थामा पानी जहाज कहिले सञ्चालन हुन्छ, टुंगो छैन। तर, कार्यालयले भने महँगो मूल्यमा गाडी खरिद गर्ने तयारी गरेको छ ।


