काठमाडौं । प्रधानमन्त्री बालेन शाहसँग एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्दाले मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन्।
भेटका क्रममा नेपाल–एडीबी सहकार्य, विकास साझेदारी तथा एडीबीले नेपालमा गर्दै आएको सहयोगका विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
यसअघि सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एडीबी अध्यक्ष कान्दाको उपस्थितिमा दुई विकास आयोजनाका लागि एडीबीबाट सहुलियतपूर्ण ऋण लिने सम्बन्धी सम्झौता भएको थियो। सरकारले उक्त ऋण सहयोगलाई मुख्यतः नेपालको भन्सार प्रणालीलाई प्रविधिमैत्री, आधुनिक र प्रभावकारी बनाउने कार्यमा परिचालन गर्ने लक्ष्य राखेको जनाएको छ।

सम्झौतापत्रमा अर्थसचिव डा. घनश्याम उपाध्याय र एडीबीका नेपालस्थित आवासीय नियोगका देशीय निर्देशक आर्नो कुश्वाले हस्ताक्षर गरेका थिए।
