नेपालको पर्यटन उद्योग सङ्क्रमण अघिको परिस्थितिममा फर्कन कम्तीमा तीन वर्ष लाग्ने

विविध

नेपालको पर्यटनलाई कोरोना भाइरस सङ्क्रमणअघिको परिस्थितिमा ल्याउन कम्तीमा तीन वर्ष लाग्ने देखिएको छ । नेपाल पर्यटन बोर्डले गरेको एक अध्ययनले सन् २०२२ को अन्त्यसम्ममा मात्र नेपालको पर्यटकीय गतिविधि सन् २०१९ को अवस्थामा पुग्नसक्ने देखाएको हो ।

बोर्डले तीन वर्षसम्मको उक्त अवधिलाई तीन फरक परिस्थितिमा वर्गीकरण गरेर त्यसैअनुसार पर्यटन क्षेत्र उकास्ने रणनीति लिनुपर्ने सुझाव पनि दिएको छ । कोरोना सङ्क्रमणका कारण समग्र पर्यटन क्षेत्रमा परेको प्रभाव र त्यसलाई कम गर्न सकिने रणनीतिका विषयमा गरिएको अध्ययनले पर्यटनमा यो वर्ष एकदमै गहिरो प्रभाव पर्ने देखिएको छ । सन् २०२० मा कुल पर्यटकीय गतिविधिको १० प्रतिशत मात्र हुनसक्ने अनुमान गरिएको छ । त्यसैले यस वर्षलाई नेपालको पर्यटन बोर्डले ‘रेड जोन’मा राखेको छ । सन् २०२१ मा ५० प्रतिशत र सन् २०२२ को अन्त्यमा शतप्रतिशत पर्यटकीय गतिविधि अर्थात् सन् २०१९ को अवस्थामा पुग्नसक्ने देखिएको बोर्डले जनाएको छ । सन् २०२१ लाई बोर्डले ‘अरेन्ज’ र सन् २०२२ लाई ‘ग्रिन’ जोनमा राखेको छ ।

यी तीन वर्षमा पर्यटकीय गतिविधि बढाउन सामाजिक दूरी र स्वास्थ्यको अवस्थालाई ख्याल गर्दै सञ्चालन गर्न सकिने क्षेत्रको विषयमा बोर्डले सरकारलाई कार्यविधिसमेत पेस गरेको छ । कोरोनाको कम प्रभाव रहेको क्षेत्रमा सजकताका सबै उपाय अपनाएर कसरी गतिविधि सञ्चालन गर्न सकिन्छ भनेर बोर्डले कार्यविधि पेस गरेको छ ।

बोर्डले अहिलेको परिस्थितिबाट पर्यटन क्षेत्र उकास्न सुरुमा आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्ने सुझाव दिएको छ । त्यसका लागि घुमघाममा निस्कने पर्यटकलाई छुट सुविधा उपलब्ध गराउन सकिने विकल्प बोर्डले दिएको छ । त्यसपछि मात्र खासगरी चीन र भारतका पर्यटकलाई लक्षित गरेर विदेशी पर्यटक भित्र्याउनेतर्फ लाग्नुपर्ने बोर्डले जनाएको छ । आन्तरिक पर्यटन प्रवद्र्धनमा गरिएका प्रयासको अनुभवका आधारमा अन्तर्राष्ट्रिय पर्यटक ल्याउनेतर्फ लाग्नुपर्ने बोर्डले जनाएको छ ।

बोर्डको सर्वेक्षणअनुसार पर्यटन क्षेत्रमा निजी क्षेत्रको लगानी करिब एक खर्ब ५३ अर्ब रुपियाँ रहेको छ । त्यसमध्ये करिब ६० अर्ब रुपियाँ ऋणको रूपमा छ भने मासिक एक अर्ब रुपियाँ किस्ताको रूपमा बुझाउनुपर्ने अवस्था छ । दर्ता भएका पर्यटन उद्योगमा दुई लाख ७३ हजारले प्रत्यक्ष रोजगारी पाएका छन् । होटल क्षेत्रमा मात्र ८१ अर्ब रुपियाँ लगानी भएको भने २९ अर्ब रुपियाँ ऋण छ । होटल क्षेत्रले मासिक ५० करोड रुपियाँ किस्ता तिर्नुपर्ने अवस्था छ । यस क्षेत्रबाट ६८ हजार ७ सयले रोजगारी पाएका छन् । पर्यटन क्षेत्रले ठूलो संख्यामा रोजगारी दिएको अवस्थामा यस्तो विषम परिस्थितिबाट पार पाउन रोजगारी संरक्षण रणनीति ल्याउनुपर्ने सुझाव पनि बोर्डले दिएको छ । जसअन्तर्गत सरकार, सम्बन्धित रोजगारदाता र केही हदसम्म रोजगारकर्ताले पनि छाड्न सक्नुपर्ने सुझाव बोर्डको छ ।