काठमाडौं — वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (पुस मसान्त) सम्म सार्वजनिक गरेका अपरिष्कृत वित्तीय विवरणले बैंकिङ क्षेत्रको समग्र खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.५१ प्रतिशतले वृद्धि भएको देखाएको छ।
ब्याजदर घट्दो क्रममा रहे पनि कर्जा विस्तार अपेक्षाअनुसार तीव्र हुन नसकेको अवस्थामा, इम्पेरमेन्ट चार्जमा आएको सुधार, सञ्चालन खर्चमा गरिएको नियन्त्रण तथा गैर-ब्याज आम्दानीको वृद्धिले बैंकहरूको समग्र नाफा उकास्न सहयोग गरेको विश्लेषण गरिएको छ।
यद्यपि, केही बैंकहरूको नाफा अझै दबाबमा देखिनुले बैंकिङ क्षेत्रभित्र सुधार समान रूपमा वितरण नभएको, अर्थात् रिकभरी असन्तुलित रहेको संकेत पनि गरेको छ।

गत आर्थिक वर्षको पुस मसान्तसम्म २० वाणिज्य बैंकले कुल २७ अर्ब ४३ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए। चालु आर्थिक वर्षको सोही अवधिमा भने बैंकहरूको कुल खुद नाफा बढेर ३० अर्ब ५९ करोड ३९ लाख रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा २० वाणिज्य बैंकमध्ये ११ बैंकको नाफा वृद्धि भएको छ भने बाँकी बैंकहरूको नाफा घटेको वा नोक्सानीमा गएको देखिएको छ। बहुसंख्यक बैंकमा नाफा बढेसँगै समग्र बैंकिङ प्रणालीको नाफा साढे ११ प्रतिशतले उकासिएको हो।
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नबिल बैंक लिमिटेडले सबैभन्दा बढी खुद नाफा कमाएको छ। बैंकले ४ अर्ब ७५ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.७१ प्रतिशत बढी हो। त्यसपछि ग्लोबल आईएमई बैंकले ३ अर्ब २५ करोड रुपैयाँ, कुमारी बैंकले २ अर्ब ७२ करोड रुपैयाँ र एभरेष्ट बैंकले २ अर्ब ११ करोड रुपैयाँ खुद नाफा कमाएका छन्।
पुस मसान्तसम्ममा लक्ष्मी सनराइज बैंक भने नोक्सानीमा छ। बैंकको खुद नाफा २७ करोड ३६ लाख रुपैयाँ ऋणात्मक छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब १६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा कुमारी बैंकको नाफा ८८६.५० प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्ष इम्पेरमेन्ट चार्ज उच्च हुँदा नाफा दबाबमा परेको यस बैंकमा चालु वर्ष सोही चार्ज घटेसँगै नाफामा उल्लेख्य सुधार देखिएको हो।
गत आर्थिक वर्षको पहिलो ६ महिनामा २७ करोड ५७ लाख रुपैयाँ रहेको कुमारी बैंकको खुद नाफा चालु आर्थिक वर्षको सोही अवधिमा बढेर २ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा नेपाल बैंकको नाफा १८३.०४ प्रतिशत, सिद्धार्थ बैंकको नाफा १५०.२० प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको नाफा १३२.०४ प्रतिशतले वृद्धि भएको छ।
विपरीततर्फ सिटिजन्स बैंक इन्टरनेशनलको खुद नाफा समीक्षा अवधिमा सबैभन्दा बढी ४५.७८ प्रतिशतले घटेको छ। त्यसैगरी नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक, कृषि विकास बैंक, एनआइईसी एसिया बैंक लगायतका बैंकहरूको नाफा पनि घटेको छ।
