काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीलाई पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको अन्तर्वार्ता प्रकरणमा स्पष्टिकरण सोधेको छ ।
मन्त्रालयले रेडियो नेपालबात बैशाख १५ गते बिहान साढे ६ बजेको अन्तरसंवाद कार्यक्रममा पूर्व प्रधानमन्त्री भट्टराईको अन्तर्वार्ता प्रशारण गरि जातीय द्वेष, घृणा उब्जाएको, सत्ता कब्जाम पंगु, निरंकुशशासक र भष्मासुर जस्ता भ्रमपूर्ण र लान्छनायुक्त शब्द सरकारका विरुद्ध प्रयोग भएको कुराकानी प्रत्यक्ष प्रशारण भएको भन्दै तीन दिन भित्र स्पष्टिकरण दिन मन्त्रीस्तरीय निर्णय अनुसार निर्देशन दिएको छ ।
रेडियो नेपालमा डा. भट्टराईले सोमबार बिहान कार्यक्रम संचालक डा. नवराज लम्सालसंग दिएको सो अन्तर्वार्ता रेडियो नेपालले सोमबार हटाएको थियो ।

समचार प्रमुख समेत रहेका डा. लम्सालले लिएको सो अन्तर्वार्तामा भाषा र विचारसँग असन्तुष्ट रहेको भन्दै अन्तर्वार्ता हटाइएको रेडियो नेपालले जनाएको थियो ।
उक्त कार्यक्रममा भट्टराईले बोलेका अभिव्यक्तिले आफूहरूलाई दुःखी तुल्याएको रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले बताएका छन् ।
सोमबार कार्कीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई अतिथिका रूपमा निम्त्याइएकोमा उहाँले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूप्रति लक्षित गरी प्रयोग गर्नुभएको भाषा र विचारले हामीलाई दुःखी तुल्याएको छ। उक्त कार्यक्रम प्रत्यक्ष प्रसारण भएकोमा आवश्यक सम्पादन गर्न नसकिएकोमा क्षमाप्रार्थी चाहन्छौं ।’ अब उप्रान्त अतिथि चयनमा गम्भीर सचेत रहने समेन विज्ञप्तिमा जनाइएको थियो ।
