परिवारसहित चितवन पुगे प्रधानमन्त्री बालेन, रास्वपा महाधिवेशनमा सहभागी हुने

Sticky News राजनीति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शनिबार चितवन पुगेका छन्।

श्रीमती सविना काफ्ले र छोरीसहित काठमाडौंबाट बुद्ध एयरको उडानमार्फत भरतपुर विमानस्थल पुगेका शाहलाई विमानस्थलमा विभिन्न सरकारी अधिकारी तथा रास्वपाका नेताहरूले स्वागत गरेका थिए। स्वागतका लागि नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की पनि विमानस्थल पुगेका थिए।

भरतपुर विमानस्थलबाट शाह परिवारसहित कालिका नगरपालिकाको शक्तिखोरस्थित लटौली रिसोर्टतर्फ प्रस्थान गरेका छन्। रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन समारोहमा उनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

रास्वपाका अनुसार महाधिवेशन पार्टीको भावी राजनीतिक दिशा, संगठन सुदृढीकरण तथा नीतिगत विषयमा केन्द्रित रहनेछ। महाधिवेशनमा देशभरबाट प्रतिनिधि तथा पर्यवेक्षकहरूको सहभागिता रहेको छ।

यसैबीच, प्रधानमन्त्री शाहको भ्रमणका क्रममा सुरक्षा व्यवस्था कडा पारिएको छ। भरतपुर विमानस्थल तथा महाधिवेशन स्थल वरपर आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको सम्बन्धित निकायले जनाएको छ।