रातो मच्छिन्द्रनाथको रथारोहण

विविध

काठमाडौँ  – वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथारोहण गरिएको छ । शुक्रबार वैशाख शुक्ल प्रतिपदाको दिन मच्छिन्द्रनाथको रथारोहण गरिएको हो । लक डाउनका कारण पुरै रथ नबनाएपनि देवतालाई राख्न मिल्ने गरी खट बनाएर रथारोहण गरिएको छ । धुमधामसँग र विधिपूर्वक मच्छिन्द्रनाथको रथारोहण पुल्चोकमा बनाइएको रथमा गराइने चलन भएपनि यो वर्ष लक डाउनका कारण परम्परालाई निरन्तरता दिन मच्छिन्द्रनाथ राखिएकै स्थानमा रथारोहण गरिएको छ ।

लकडाउनले पुरै रथ बनाउन नसकिएपनि महामारी अवस्थाबाट मुक्त हुन सकियोस, कसैलाई पनि रोग नलागोस भनेर मच्छिन्द्रनाथको रथारोहण गरिएको मुख्य पुजारी कमलराज बज्राचार्यले बताउनुभयो ।  यो वर्ष परम्परा अनुसार मच्छिन्द्रनाथको रथोरोहण गरिएपनि नगर परिक्रमा भने गराइएन् ।

करिब दुई महिना चल्ने नेपालकै सबैभन्दा लामो रथयात्रा रातो मच्छिन्द्रनाथको रथलाई सुन्धारा, नुगल, लगनखेल हुँदै जावलाखेल पु-याएर साइत अनुसार भोटो देखाइ मच्छिन्द्रनाथको मूर्तिलाई बुङ्मतीमा लगेपछि जात्रा समापन भएको मानिन्छ । जानकारहरुका अनुसार यो भन्दा अगाडी जस्तो सुकै अफ्ठ्यारो अवस्थामा पनि जात्रा रोकिएको थिएन् ।