IME–Khalti Gets New CEO: प्रविण रेग्मी चार वर्षका लागि नियुक्त

बैंक/वित्त

काठमाडौं आइएमई डिजिटल सोलुसन लिमिटेड र खल्ती प्रा.लि. गाभिएर २०८२ साउन १ गतेदेखि संयुक्त रूपमा सञ्चालनमा आएको आइएमई खल्ती लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा प्रविण रेग्मीलाई नियुक्त गरेको छ।

कम्पनीको सञ्चालक समितिको आज बसेको ११औँ बैठकले रेग्मीलाई चार वर्षका लागि सिइओ नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघि आइएमई डिजिटल सोलुसन लिमिटेडका सिइओ रहेका रेग्मी मर्जरपछि संयुक्त कम्पनी आइएमई खल्तीको सञ्चालक समितिमा बसेर रणनीतिक नेतृत्वमा सक्रिय थिए। फिनटेक, बैंकिङ र डिजिटल ट्रान्सफर्मेसनमा डेढ दशकभन्दा बढी अनुभव भएका रेग्मीले नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई आधुनिक र सक्षम बनाउन उल्लेखनीय योगदान पुर्‍याएका छन्।

कम्पनीका अनुसार बढ्दो डिजिटल कारोवार र क्यासलेस अर्थतन्त्रतर्फको रूपान्तरणमा रेग्मीको नेतृत्व महत्वपूर्ण हुने विश्वास लिइएको छ।

यसअघि सिइओ रहेका विनय खड्का भने आफ्नो चार वर्षे कार्यकाल पूरा गरी विदा भएका छन्।

रेग्मी PSP संघ नेपालका संस्थापक अध्यक्ष समेत हुन्, जहाँ उनले भुक्तानी सेवा प्रदायक कम्पनीहरूको सहकार्य, समन्वय र नीतिगत सुधारमा सक्रिय भूमिका खेलेका थिए।
कम्पनीका अनुसार रेग्मीको अनुभव, दृष्टि र नवीनताका क्षमताले आइएमई खल्तीलाई आगामी दिनमा थप रणनीतिक रुपमा सुदृढ बनाउने अपेक्षा गरिएको छ।