काठमाडौँ – लकडाउन घोषणाको एक महिना बित्दा बजारमा चामल, दाल, मैदा, तेललगायत खाद्य सामग्रीको मूल्य बढेको छ । तरकारीको भाउ लकडाउन पहिलेकै अवस्थामा आए पनि खाद्य वस्तुको मूल्य बढेको उपभोक्ताको गुनासो छ । बजारमा चामलको मूल्य प्रतिकिलो रु चार/पाँच, तेलको रु १५ देखि २५, मैदा रु तीन/चारसम्म बढेको उपभोक्ता अधिकारका क्षेत्रमा कार्यरत बताउँछन् । बजारमा खाद्यान्नको भाउ बढ्नुको कारण खुद्रा व्यापारी थोक आयातकर्तालाई देखाउने गरेका छन् भने थोक आयातकर्ताले उद्योगबाट आउँदै भाउ बढेको बताएका छन् ।
यो समयमा बजारमा खाद्यान्न कम आएको भन्दै म्याद सकिएका सामानसमेत बिक्री हुनसक्ने भएकाले सरकार चनाखो हुनुपर्छ । सरकारले खाद्यान्नको आपूर्तिमा कुनै रोकावट नहुने भने पनि विभिन्न स्थानमा पानी, दूधलगायत खाद्यान्न बोक्ने गाडी नै रोकेको छ । कतिपय स्थानमा स्थानीयवासीले अन्यत्रका मानिस आउन नपाउँन् भनी बाँस राख्ने त कतै पुल रोक्ने काम गरेका छन् । यसले गर्दा पनि खाद्यान्नको आयातमा नै समस्या आइरहेको छ ।
खाद्यान्नको पसल खुल्ने समय एउटै नहुँदा उपभोक्तामा अन्योल देखिएको छ । एउटै पालिकाभित्र पनि कुनै वडाले बिहान ६ देखि ८ र अर्को वडाले ६ देखि ९ सम्म खोलेको पाइन्छ । कतिपय स्थानमा बिहान मात्रै बजार खोल्ने गरेको त कतिपय स्थानमा बिहान र बेलुका दुवै समयमा खोलेको पाइएको छ । बिहान एउटा समयमा र थोरै समयका लागि मात्रै पसल खोलिएका स्थानमा उपभोक्ताको भीडभाड बढी पाइएको छ । उपभोक्तालाई दुई घण्टा भित्रैमा दूध, तरकारी, दाल, चामल किन्नुपर्दा एकातिर भ्याइनभ्याइ हुने गरेको छ भने अर्कातिर बजारमा पनि भीडभाड भएको पाइन्छ । तरकारी र फलफूललगायत छिटो बिग्रने कुरा बेच्न नपाउँदा पसलमै बिग्रिएको व्यापारीले गुनासो गरेका छन् ।

लकडाउनको एक महिना बित्दा बजारमा अहिले तरकारी र फलफूलको मूल्य भने ह्वात्तै घटेको छ । लकडाउनको एक साता पहिलेदेखि नै तरकारी र फलफूलको भाउ बढिरहेको थियो । लकडाउनको एक सातापछि बजारमा गोलभेडा प्रतिकिलो १३० सम्ममा बिक्री हुन थाल्यो । अहिले कागतीबाहेक अधिकांश तरकारीको मूल्य कम भएको छ । लकडाउनसँगै काठमाडौँ उपत्यकाका काँठ क्षेत्र र उपत्यका नजिककै जिल्लाबाट तरकारी ढुवानी हुन नसक्दा उपत्यकामा भाउ बढेको थियो ।
