““Earnings Strength Amid Asset Strain –– ग्लोबल आइएमईको नाफा बलियो, तर जोखिम व्यवस्थापनमा प्रश्न

बैंक/वित्त

काठमाडौं ।ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २२.९२ प्रतिशतले खुद नाफा बढाएर लाभांश क्षमतामा सशक्त उपस्थिति देखाएको छ। तर नाफासँगै बढेको खराब कर्जाको अनुपात (NPL) ले बैंकको जोखिम व्यवस्थापन क्षमतामाथि प्रश्न उब्जाएको छ। नाफा र आयका प्रमुख सूचकांकहरू सुधारतर्फ रहे पनि कर्जाको गुणस्तरमा देखिएको दबाबले बैंकको दीर्घकालीन स्थायित्व र नियामक अनुपालन क्षमतामा गम्भीर ध्यान दिनुपर्ने संकेत गरेको छ।

ग्लोबल आइएमई बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा खुद नाफा २२.९२ प्रतिशत बढेर १ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ गरेको छ । गत वर्ष बैंकले १ अर्ब ५१ करोड २१ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २५ अर्ब ४५ करोड २३ लाख रुपैयाँ छ । असोज मसान्तसम्ममा बैंकको निक्षेप संकलन ५.७४ प्रतिशत बढेर ५ खर्ब ८२ अर्ब २५ करोड ४६ लाख रुपैयाँ र कर्जा लगानी २.७२ प्रतिशत बढेर ४ खर्ब २१ अर्ब २५ करोड २० लाख रुपैयाँ प्रवाह गरेको छ ।

चालु आवको असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ०.३४ प्रतिशत बढेर ४ अर्ब १३ करोड ३० लाख रुपैयाँ गरेको छ । गत वर्ष बैंकले ४ अर्ब ११ करोड ८९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यसअवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी २.६२ प्रतिशत बढेर ९० करोड ७६ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ५.३६ प्रतिशत बढेर ५ अर्ब ५१ करोड ६२ लाख रुपैयाँ, सञ्चालन नाफा १०.४४ प्रतिशत बढेर २ अर्ब ३७ करोड १६ लाख रुपैयाँ रहेको छ ।
बैंकको प्रतिसेयर आम्दानी २.७७ रुपैयाँ बढेर १९.५१ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७९.५० रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १२.१० गुणा रहेको छ ।

गत वर्षको असोजमा ४.६७ प्रतिशत रहेको खराब कर्जा यस वर्ष बढेर ४.९८ प्रतिशत पुगेको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा ४ अर्ब ८४ करोड ९५ लाख रुपैयाँ रहेको छ । उक्त वितरणयोग्य नाफाका आधारमा बैंकको लाभांश क्षमता २२.९५ प्रतिशत रहेको छ ।