Citizens Bank FY81/82 Snapshot – १.७५ खर्ब कर्जा, २.१४ खर्ब निक्षेप, बेस रेट घटेर ६.२५%, नाफा १.२९ अर्ब

बैंक/वित्त

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म कर्जा, निक्षेप, ब्याज आम्दानी र नाफा सबै सूचकमा दोहोरो अंकको वृद्धि गर्दै कोषको लागत घटाउने, बेस रेट कम गर्ने तथा कर्जा जोखिम व्यवस्थापनमा उल्लेखनीय सुधार गर्ने सफलता हासिल गरेको छ।

अवधिभरमा बैंकको कर्जा प्रवाह ११.१५ प्रतिशतले बढ्दै १ खर्ब ७५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको असार मसान्तमा यो रकम १ खर्ब ५७ अर्ब ५८ करोड रुपैयाँ थियो। निक्षेप संकलन पनि ११.६९ प्रतिशतले वृद्धि भई २ खर्ब १४ अर्ब ८ करोड रुपैयाँमा पुगेको छ, जुन गत वर्षको तुलनामा करिब २२ अर्ब रुपैयाँ बढी हो।

खुद ब्याज आम्दानीमा ११.२० प्रतिशतको वृद्धि हुँदै यो रकम ६ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ। कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८१.९० प्रतिशत रहेको छ, जसले बैंकको तरलता व्यवस्थापन सन्तुलित भएको देखाउँछ। यस अवधिमा सम्पत्ति प्रतिफल दर (ROA) ०.५९ प्रतिशत र पुँजी प्रतिफल दर (ROE) ५.८१ प्रतिशत कायम भएको छ।

बैंकको खुद नाफा १ अर्ब २९ करोड ३२ लाख रुपैयाँमा पुगेको छ। यसै अवधिमा कोषको लागत ६.३२ प्रतिशतबाट घटेर ४.४९ प्रतिशतमा झरेको छ। बेस रेट पनि ८.२६ प्रतिशतबाट घटेर ६.२५ प्रतिशतमा झरेको छ।

कर्जा जोखिम व्यवस्थापनमा सुधार गर्दै बैंकले कुल गैरकृयाशील कर्जा (एनपीएल) को १०५.९८ प्रतिशत बराबरको प्रावधान जुटाएको छ, जसले सम्भावित जोखिम न्युनिकरणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

यी उपलब्धिहरूले सिटिजन्स बैंकको वित्तीय आधार सुदृढ भएको र आगामी अवधिमा पनि स्थायित्वसहित प्रतिस्पर्धात्मक सेवा विस्तार गर्न सक्षम रहने संकेत गरेका छन्।