नेपाल राष्ट्र बैंकको नयाँ कडाई: भुक्तानी सेवा प्रदायकलाई लाभांश दिन ६ शर्त अनिवार्य

बैंक/वित्त

काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था बाहेकका भुक्तानी सेवा प्रदायक संस्थाहरूलाई लाभांश वितरण गर्न ६ वटा कडा पूर्वशर्त लागू गर्ने भएको छ।

हालै सार्वजनिक गरिएको ‘लाभांश वितरण सम्बन्धी मार्गदर्शन, २०८२’ मा ती शर्तहरू समावेश छन्। केन्द्रीय बैंकले मोबाइल वालेट, पेमेंट गेटवे जस्ता गैर-बैंक तथा गैर-वित्तीय भुक्तानी सेवा प्रदायकहरूको मुनाफा वितरण प्रणालीलाई पारदर्शी, उत्तरदायी र सन्तुलित बनाउने उद्देश्यले मार्गदर्शन ल्याएको हो। मार्गदर्शन अनुसार लाभांश वितरण गर्न कम्पनीको सञ्चित मुनाफा ऋणात्मक हुनु नहुनेछ, लाभांश घोषणा पछिल्लो मुनाफा भएको वर्षको लेखापरीक्षण भइसकेको वित्तीय विवरणमा आधारित हुनुपर्नेछ, सेयर प्रिमियमबाट नगद लाभांश दिन पाइने छैन, संस्थाको नेटवर्थ ऋणात्मक हुनु नहुनेछ, नगद लाभांश दिनुअघि पर्याप्त नगद मौज्दात हुनुका साथै कर्जासम्बन्धी कुनै प्रतिबन्ध लागू नहुनुपर्नेछ र राष्ट्र बैंकको निरीक्षणका क्रममा कुनै गम्भीर कैफियत नपाइएको हुनु पर्नेछ।

लाभांश स्वीकृतिका लागि आवश्यक कागजातमा सञ्चालक समितिको निर्णय, लेखापरीक्षण गरिएको वित्तीय विवरण, अघिल्लो वर्षको कर चुक्ता प्रमाणपत्र, कोषमा रकम छुट्याएको विवरण, कर्जा सूचना केन्द्रको कालोसूचीमा नरहेको प्रमाण र कर तथा कर्जासम्बन्धी स्वघोषणा समावेश छन्। यी कागजातहरू लाभांश वितरणको प्रस्ताव गरिएको मितिबाट ६ महिनाभित्रका हुनुपर्नेछ।

मार्गदर्शनमा के छन् ६ प्रमुख शर्त?

१. सञ्चित मुनाफा ऋणात्मक नहुनु पर्ने
– लाभांश घोषणा गर्ने समयमा संस्थाको सञ्चित मुनाफा ऋणात्मक भएमा वितरण गर्न पाइने छैन।

  1. लाभांश मुनाफा भएको वर्षकै वित्तीय विवरणमा आधारित हुनु पर्ने
    – लेखापरीक्षण भइसकेको पछिल्लो मुनाफा भएको वर्षको वित्तीय विवरणलाई मात्र आधार मानिनेछ।

  2. सेयर प्रिमियमबाट नगद लाभांश निषेध
    – सेयर प्रिमियम प्रयोग गरेर नगद लाभांश वितरण गर्न पाइने छैन।

  3. नेटवर्थ ऋणात्मक नहुनु पर्ने
    – सेयर वा नगद लाभांश दिनुअघि संस्थाको कुल सम्पत्ति ऋणात्मक हुनु नहुने।

  4. पर्याप्त नगद मौज्दात र कर्जासम्बन्धी प्रतिबन्ध नहुनु पर्ने
    – संस्थाले नगद लाभांश वितरण गर्नु अघि पर्याप्त नगद भण्डार हुनुपर्छ र कर्जासम्बन्धी कुनै रोक लाग्नु नपर्ने।

  5. गम्भीर नियामकीय कैफियत नपाइएको हुनु पर्ने
    – राष्ट्र बैंकको निरीक्षण (स्थलगत वा कागजी) मा गम्भीर वित्तीय लापरवाही नदेखिएको अवस्थामा मात्र लाभांश स्वीकृति हुने।

लाभांश स्वीकृतिका लागि आवश्यक कागजात

राष्ट्र बैंकको मार्गदर्शन अनुसार लाभांश वितरणको स्वीकृतिका लागि निम्न कागजातहरू अनिवार्य छन्:

  • सञ्चालक समितिको निर्णय

  • लेखापरीक्षण गरिएको वित्तीय विवरण

  • अघिल्लो वर्षको कर चुक्ता प्रमाणपत्र

  • कोषहरूमा रकम छुट्याएको विवरण

  • CIB (कर्जा सूचना केन्द्र) को कालोसूचीमा नरहेको प्रमाण

  • भाखा नाघेको कर्जा र कर दायित्व नभएको स्वघोषणा

यी कागजातहरू पेश गरेको मितिले ६ महिनाभित्रको हुनुपर्ने व्यवस्था गरिएको छ।