“Interbank Transactions Limited to Rs. 1.6 Trillion: अघिल्लो वर्षको तुलनामा २४ खर्बको गिरावट”

बैंक/वित्त

काठमाडौँ । चालु आर्थिक वर्षको जेठ महिनासम्म वाणिज्य बैंकहरु र अन्य वित्तीय संस्थाहरुको अन्तरबैंक कारोबारमा भारी मात्रामा गिरावट आएको छ ।

राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा अन्तरबैंक कारोबारमा ५८.६ प्रतिशतले गिरावट आएको हो ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको जेठ महिनासम्म वाणिज्य बैंकहरुले १५ खर्ब ३१ अर्ब २१ करोड रुपैयाँ र अन्य वित्तीय सस्थाहरुले १ खर्ब ५० अर्ब ३३ करोड रुपैयाँ बराबरको अन्तरबैंकिङ्ग कारोबार गरेका छन् । यो विवरण अनुसार कुल अन्तरबैंक कारोबार १६ खर्ब ८१ अर्ब ५४ करोड रुपैयाँमा सीमित भएको छ ।

गत आर्थिक वर्षको यहि अवधिमा वाणिज्य बैंकहरुले ३७ खर्ब १ अर्ब ४३ करोड रुपैयाँ र अन्य वित्तीय सस्थाहरुले ३ खर्ब ५९ अर्ब ५५ करोड रुपैयाँको अन्तरबैंक कारोबार गरेका थिए । उक्त विवरण अनुसार गत आवको ११ महिनामा जम्मा अन्तबैंक कारोबार ४० खर्ब ६० अर्ब ९८ करोड रुपैयाँ पुगेको थियो ।

आर्थिक वर्ष २०८१/८२ को बजेटमा तत्कालीन अर्थमन्त्री वर्षमान पुनले अन्तरबैंकिङ कारोबारमा लाग्ने सेवा शुल्कमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णय गरेका थिए । अर्थमन्त्रीको उक्त निर्णयसँगै अन्तरबैंकिङ कारोबारमा कमी आएको थियो ।

तर, आगामी आर्थिक वर्षको बजेटमार्फत अर्थमन्त्री विष्णु पौडेलले अन्तरबैंकिङ कारोबारको सेवा शुल्कमा लाग्दै आएको भ्याट हटाएका छन् । गत १५ जेठमा संघीय संसद्मा आगामी आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मन्त्री पौडेलले भ्याट हटाउने घोषणा गरेका थिए ।

अन्तरबैंकिङ कारोबारको सेवा शुल्कमा लाग्दै आएको भ्याट हटेसँगै कारोबार रकम पनि बढ्ने अपेक्षा गरिएको छ । अन्तरबैंकिङ कारोबारमा भ्याटको प्रावधान लागू भएपछि जनस्तरबाट चर्को आलोचना भएको थियो ।

आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले कारोबारको सेवा शुल्कमा लाग्दै आएको भ्याट हटाउने प्रतिबद्धता जनाएका थिए । सोहीअनुसार बजेटमार्फत् भ्याटको प्रावधान हटाइएको हो । अन्तरबैंकिङ्ग कारोबारमा आएको गिरावटमा आगामी आर्थिक वर्षमा सुधार आउने आशा गरिएको छ ।