चर्चित गायिका एलिना चौहानले आफूमाथि भइरहेको साइबर दुर्व्यवहार र चरित्र हत्या विरुद्ध कानुनी प्रक्रिया अगाडि बढाएकी छन्। सामाजिक सञ्जालमार्फत एक भावुक स्टाटस लेख्दै चौहानले व्यक्तिगत जीवनमा नकारात्मक असर पुग्ने गरी भइरहेका गालीगलौज र चरित्र हत्या असह्य भएको भन्दै कानुनी बाटो रोज्न बाध्य भएको बताएकी हुन्।
उनले आफ्नो सांगीतिक यात्रामा दर्शक तथा शुभचिन्तकहरूको माया र साथ महत्वपूर्ण रहेको बताउँदै उनीहरूकै समर्थन आफ्नो आत्मबल भएको उल्लेख गरेकी छन्। तर, सबैबाट सधैँ सकारात्मक सोचको अपेक्षा गर्न नसकिने कुरा स्वाभाविक भए पनि व्यक्तिगत जीवनमा आँच पुग्ने गरी भइरहेका कार्यहरू स्वीकार्य नहुने उनको भनाइ छ।
“जसले यस्ता कुरा गरिरहेका छन्, ती मेरो फ्यान होइनन् — ती त मेरो मन दुखाउन चाहने मात्र हुन्,” उनले आफ्नो स्टाटसमा लेखेकी छन्। आत्म-सम्मानको रक्षाका लागि यो कदम चालेको र यो कुनै रिस वा घृणाले नभई आफ्नो अस्तित्वको सुरक्षा गर्ने अधिकारको प्रयोग भएको उनले स्पष्ट पारेकी छन्।

यस विषयमा आवश्यक सहयोग प्रदान गरेकोमा गायिका चौहानले माननीय गृहमन्त्री श्री रमेश लेखकज्यूलाई विशेष धन्यवाद व्यक्त गरेकी छन्। उनले शुभचिन्तकहरूको साथ र सद्भावनाले आफूलाई अझ अगाडि बढ्ने हिम्मत मिलेको पनि बताएकी छन्।

