अमेरिका जाने ? पहिला आफ्ना सामाजिक सञ्जाल खाताहरू Public गर्नुस् !!!

समाचार

अमेरिकाले F, M, J भिसाका लागि आवेदन दिने व्यक्तिहरूलाई उनीहरूको सामाजिक सञ्जाल खाताहरू सार्वजनिक (Public) गर्नुपर्ने नयाँ नियम लागू गरेको छ। यो नियम तत्कालै लागू भएको छ।

अमेरिकी विदेश मन्त्रालय (U.S. Department of State) ले हालै विश्वभरका आफ्ना दूतावास र कन्सुलर कार्यालयहरूलाई एउटा नयाँ निर्देशिका जारी गरेको छ। यस निर्देशिका अनुसार F (शैक्षिक), M (व्यावसायिक) र J (एक्सचेन्ज कार्यक्रम) भिसाका लागि आवेदन दिने सबै गैर-आप्रवासी भिसा आवेदकहरूले आफ्ना व्यक्तिगत सामाजिक सञ्जाल खाताहरूको प्राइभेसी सेटिङ ‘पब्लिक’ मा राख्न अनुरोध गरिएको छ।

अमेरिकी अधिकारीहरूका अनुसार यो कदम आवेदकहरूको पहिचान र अमेरिकामा उनीहरूको प्रवेश योग्यता (admissibility) स्थापित गर्न आवश्यक जाँच प्रक्रियालाई सहज बनाउनका लागि चालिएको हो। प्रत्येक भिसा निर्णयलाई राष्ट्रिय सुरक्षाको विषय मानिएको छ। अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न गर्न सक्ने वा देशमा प्रवेशको लागि अयोग्य आवेदकहरूलाई पहिचान गर्न सबै उपलब्ध जानकारीको प्रयोग गरिने अमेरिकी अधिकारीहरूको भनाइ छ।

यो नियम विशेष गरी F, M, र J भिसाका लागि आवेदन दिने विद्यार्थी तथा एक्सचेन्ज कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिहरूलाई लागू हुन्छ। अमेरिकी विदेश मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार यो नियम “तत्कालै” लागू भएको छ। धेरै स्रोतहरूले यसलाई जुन १८, २०२५ मा जारी गरिएको निर्देशिकासँग जोडेका छन्। यसअघि मे महिनामा विद्यार्थी भिसाको अन्तर्वार्ता प्रक्रिया अस्थायी रूपमा रोकिएको थियो र अहिले यो नयाँ नियमसहित पुनः सुरु गरिएको छ।

कन्सुलर अधिकारीहरूले आवेदकहरूको अनलाइन उपस्थितिको विस्तृत जाँच गर्नेछन्। यसमा सामाजिक सञ्जालमा गरिएका पोस्ट, शेयर, टिप्पणी, लाइक लगायतका गतिविधिहरू समावेश हुनेछन्। अमेरिकाका नागरिक, संस्कृति, सरकार, संस्थाहरू वा आधारभूत सिद्धान्तहरूप्रति ‘शत्रुतापूर्ण’ मनोवृत्ति राख्ने वा आतंकवाद, यहूदीविरोधी हिंसा, वा अन्य कुनै चरमपन्थी विचारधारालाई समर्थन गर्ने आवेदकहरूलाई पहिचान गर्न खोजिनेछ।

यदि कुनै आवेदकले आफ्ना सामाजिक सञ्जाल खाताहरू सार्वजनिक गर्न अस्वीकार गरेमा वा पहुँच सीमित गरेमा, यसलाई जानकारी लुकाउने प्रयासका रूपमा लिइनेछ र भिसा आवेदन अस्वीकृत हुन सक्नेछ।

नेपालस्थित अमेरिकी दूतावासले पनि नयाँ नियमबारे जानकारी गराएको छ।  दूतावासले सामाजिक सञ्जाल ‘X’  मार्फत यो नियमबारे जानकारी गराएको छ। यो नियमले अमेरिकामा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूमा केही अन्योलता र चिन्ता बढाएको छ।  शैक्षिक परामर्शदाताहरूले विद्यार्थीलाई आफ्नो सामाजिक सञ्जाल प्रोफाइल सफा राख्न र कुनै पनि विवादास्पद सामग्री हटाउन सल्लाह दिन थालेका छन्।

यो कदम सन् २०१९ देखि लागू भएको भिसा आवेदन फारम (DS-160) मा सामाजिक सञ्जाल ह्यान्डलहरू प्रदान गर्नुपर्ने नियमकै कार्यन्वयन हो। यसले अमेरिकी भिसा प्रक्रियामा डिजिटल पारदर्शितालाई अझ बढाएको अमेरिकी अधिकारीहरूले बताएका छन् ।