सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत नेपाललाई सुरक्षित, आकर्षक र अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय गन्तव्यका रूपमा ब्राण्डिङ गर्ने योजना सार्वजनिक गरेको छ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदमा बजेट प्रस्तुत गर्दै पूर्वाधार विकास, गुणस्तरीय सेवा विस्तार, बजारीकरण र छिमेकी मुलुकका पर्यटकलाई लक्षित विशेष प्रवर्द्धन योजनाका माध्यमबाट पर्यटन विस्तार गरिने जानकारी दिए। पर्या–पर्यटन, साहसिक, धार्मिक तथा सांस्कृतिक क्षेत्रलाई प्राथमिकतामा राख्दै सेवा केन्द्र स्थापनादेखि निजी क्षेत्रको लगानी आकर्षणसम्मका कार्यक्रम समावेश छन्।
बजेटमा चलचित्र, आरोग्य, खेल, जंगल सफारी र पदयात्राजस्ता विविध क्षेत्रको प्रवर्द्धनका लागि विशेष योजनाहरू राखिएका छन्। शुक्लाफाँटा, खप्तड, रारा, लुम्बिनी, सगरमाथा, जनकपुरधामलगायत स्थानमा सुरक्षित पदमार्ग निर्माण गरिनेछ भने होटल तथा रिसोर्टलाई उत्पादनमूलक उद्योगको मान्यता दिँदै आयकर र विद्युत महसुलमा छुट प्रदान गरिनेछ। प्रमुख धार्मिक तथा सांस्कृतिक स्थलहरूमा पूर्वाधार निर्माण, सन्ध्याकालीन पदमार्गको विकास र नदीहरूमा ¥याफ्टिङको सुविधा पनि बजेटको प्राथमिकतामा पर्छ। यसका साथै, पर्यटन क्षेत्रका श्रमिकलाई प्रोत्साहन गर्न कानुनी व्यवस्था गरिनेछ।
