काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो १० महिनामा (साउनदेखि वैशाख) नेपालले झन्डै १९ अर्ब रुपैयाँको धान आयात गरेको छ। भन्सार विभागका अनुसार सो अवधिमा ४९ करोड ५१ लाख किलोभन्दा बढी धान आयात हुँदा १८ अर्ब ९५ करोड रुपैयाँ खर्चिएको हो।
त्यसैगरी, सोही अवधिमा नेपालले १४ खर्ब ७४ अर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको छ भने निर्यात २ खर्ब १७ अर्ब रुपैयाँमा सीमित भएको छ। आयात-निर्यात असन्तुलनका कारण मुलुकको व्यापार घाटा १२ खर्ब ५६ अर्ब रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ७९ अर्ब रुपैयाँले बढी हो।
गत आर्थिक वर्षको १० महिनामा नेपालले १३ खर्ब ३ अर्ब रुपैयाँको वस्तु तथा सेवा आयात गरी १ खर्ब २६ अर्ब रुपैयाँको निर्यात गरेको थियो।

निर्यातमा सोयाबिन तेल अगाडि
चालु आर्थिक वर्षको १० महिनामा नेपालबाट सबैभन्दा बढी ३७ करोड ४१ लाख केजी सोयाबिन तेल निर्यात गरिएको छ, जसबाट ७८ अर्ब ७६ करोड रुपैयाँ आम्दानी भएको छ। त्यसपछि १० अर्ब रुपैयाँ बराबरको सूर्यमुखी र कुसुमको तेल, ८ अर्ब ८५ करोडको कार्पेट तथा कपडा, ६ अर्ब ६७ करोडको अलैंची, ४ अर्ब ७९ करोडको फलाम तथा स्टील, ४ अर्ब ५२ करोडको रसको मिश्रण, ४ अर्ब ४४ करोडको धागो फाइबर, र ४ अर्ब १९ करोडको पोलिस्टर धागो निर्यात गरिएको छ।
आयातमा डिजेल पहिलो
१० महिनामा सबैभन्दा धेरै आयात भएको वस्तु डिजेल हो। ११ लाख ४८ हजार किलोलिटर डिजेल आयात गर्दा १ खर्ब २ अर्ब खर्चिएको छ। त्यसपछि ८१ अर्ब रुपैयाँको कच्चा सोयाबिन तेल, ५३ अर्बको पेट्रोल, ५२ अर्बको एलपी ग्याँस, ४१ अर्बको फलामजन्य वस्तु, २८ अर्बको स्मार्टफोन, २५ अर्बको औषधि, र २४ अर्बको कच्चा सूर्यमुखी तेल आयात भएको छ।
निर्यातको वृद्धि भए पनि व्यापार घाटा अझै उच्च
गत वर्षको तुलनामा निर्यात ९१ अर्ब रुपैयाँले बढेको छ भने आयात १ खर्ब ७० अर्बले वृद्धि भएको छ। तर निर्यातको अनुपात तुलनात्मक रूपमा न्यून भएकाले व्यापार घाटा कम हुन सकेको छैन। अर्थविद डिल्लीराम खनालका अनुसार “निर्यात वृद्धिदर उत्साहजनक भए पनि आयातको हिस्सा निकै ठूलो भएकाले व्यापार घाटा घटाउने चुनौती कायमै छ।”
