गभर्नर सिफारिस समितिको बैठक शुरू, आजै मन्त्रिपरिषद्ले निर्णय गर्ने सम्भावना

अर्थ समाचार

काठमाडौं । नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिका लागि सिफारिस समिति बैठक मंगलबार अपराह्न अर्थ मन्त्रालयमा शुरू भएको छ। बैठक अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा बसेको हो।

समितिमा अर्थमन्त्री पौडेलसँगै पूर्व गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषराज पाण्डे सदस्य छन्। लामो समयअघि गठन भएको समिति पहिलोपटक बैठकमा बस्न लागेको हो।

बैठकले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. विश्वनाथ पौडेल, डेपुटी गभर्नर नीलम ढुंगाना तिमिल्सिनासहित तीन जनाको नाम सिफारिस गर्ने सम्भावना छ।

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच डा. पौडेललाई गभर्नर बनाउने सहमति भइसकेको स्रोतहरू बताउँछन्। सिफारिस समितिको बैठकपछि आजै मन्त्रिपरिषद बैठक बोलाइएको छ, जसले नयाँ गभर्नरको नियुक्ति गर्ने अपेक्षा गरिएको छ।