प्रधानमन्त्री बिरामी, तर गभर्नर सिफारिस प्रक्रिया तीव्र; आजै मन्त्रिपरिषदबाट नियुक्तिको सम्भावना

राजनीति समाचार

काठमाडौं । पछिल्लो समय अस्वस्थ भएका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारको लागि तय मन्त्रिपरिषद् बैठक स्थगित गरेका थिए। मंगलबार संसदमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिनुपर्ने कार्यक्रमसमेत रद्द भएको थियो। यद्यपि, स्वास्थ्यमा सुधार र कांग्रेस सभापति देउवा संग बार्ता पछी प्रधानमन्त्री ओलीले आज साँझ मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्।

यता, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्र बैंकका लागि गभर्नर सिफारिस गर्न गठित समितिको बैठक पनि आजै अपराह्न ४ बजेका लागि आह्वान गरेका छन्। अर्थ मन्त्रालय स्रोतका अनुसार उक्त बैठकले तीन जना उम्मेदवारको नाम सिफारिस गर्नेछ, जसमा डा. विश्वनाथ पौडेलको नाम सत्तारुढ दलहरूबीच सहमतिका साथ अघि सारिएको बताइएको छ।

गभर्नर सिफारिस समिति अर्थमन्त्री पौडेलको अध्यक्षतामा गठन गरिएको हो। समितिमा पूर्व गभर्नर महाप्रसाद अधिकारी र डा. पोषराज पाण्डे सदस्य छन्। प्रारम्भिक रूपमा सदस्य रहेका डा. विश्वनाथ पौडेलले आफैं गभर्नर बन्ने तयारीस्वरूप वैशाख २८ गते राजीनामा दिएपछि पाण्डे समिति सदस्यमा नियुक्त भएका हुन्।

२५ चैतदेखि नेतृत्वविहीन रहँदै आएको नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्तिको प्रक्रिया निकै ढिलो भएकोमा आलोचना हुँदै आएको छ। सिफारिस समितिले आज प्रस्ताव गर्ने तीन नाममध्ये एकलाई आज साँझकै मन्त्रिपरिषद् बैठकले गभर्नरका रूपमा अनुमोदन गर्ने सम्भावना प्रवल देखिन्छ।

राजनीतिक सहमति, ब्युरोक्रेटिक प्रक्रिया र नेतृत्व रिक्तताको लामो अन्तरालपछि अन्ततः राष्ट्र बैंकले नयाँ गभर्नर पाउने संकेत देखिएको छ।