चितवनदेखि सेन्ट्रल बैंकसम्म : डा. पौडेलको सक्सेस जर्नी

अर्थ आर्थिक बैंक/वित्त समाचार

नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले डा. विश्व पौडेललाई नेपाल राष्ट्र बैंकको १८औँ गभर्नरको रूपमा नियुक्त गरेको छ। चितवन निवासी डा. पौडेल एक प्रख्यात अर्थशास्त्री, शिक्षाविद् तथा नीतिनिर्माणमा गहिरो अनुभव बोकेका व्यक्तित्व हुन्।

उनले आफ्नो शैक्षिक यात्रा चीनमा इन्जिनियरिङ अध्ययनबाट प्रारम्भ गरेका थिए। त्यसपछि उच्च शिक्षाका लागि अमेरिका गएका उनले University of California, Berkeley बाट कृषि तथा स्रोत अर्थशास्त्रमा विद्यावारिधि (PhD) हासिल गरेका छन्। उनी इतिहास, श्रम अर्थशास्त्र, प्राकृतिक स्रोत व्यवस्थापन तथा आर्थिक नीति निर्माणका क्षेत्रमा विशेष ज्ञान राख्छन्।

डा. पौडेल हाल काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टमा भिजिटिङ एसोसिएट प्रोफेसरका रूपमा अध्यापनरत छन्। यसअघि उनी राष्ट्रिय योजना आयोगको उपाध्यक्ष, अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार, अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) का सल्लाहकार, मिलेनियम च्यालेञ्ज नेपालको अर्थशास्त्री, तथा नेपाल उद्योग परिसंघ (CNI) का प्रमुख आर्थिक सल्लाहकारका रूपमा कार्यरत रहिसकेका छन्।

उनी क्षेत्रीय तथा अन्तर्राष्ट्रिय नेतृत्व भूमिकामा पनि सक्रिय रहँदै आएका छन्। उनले ICIMOD को बोर्ड अफ गभर्नर्सको अध्यक्षता, कोलम्बो प्लान काउन्सिलको अध्यक्षता तथा एशिया प्रशान्त क्षेत्रमा क्षेत्रीय आर्थिक सहयोग तथा एकीकरण (RECI) कार्यक्रमको अध्यक्षता गरेका छन्।

डा. पौडेलले सानिमा बैंक र सानिमा मिडिल तामोर जलविद्युत् कम्पनी (७३ मेगावाट) को सञ्चालक समितिमा सदस्यको रूपमा काम गरिसकेका छन्। उनले उल्लेन्स एजुकेसन फाउन्डेशनको बोर्ड अफ ट्रस्टीमा समेत सेवा दिएका थिए।

शोध र लेखनमा पनि डा. पौडेलको योगदान उल्लेखनीय छ। उनले American Journal of Agricultural Economics, Applied Economic Perspectives and Policy, Natural Resources Modeling, Applied Economic Letters लगायतका अन्तर्राष्ट्रिय जर्नलहरूमा लेख प्रकाशन गरेका छन्। नेपाली मिडिया तथा बहसमा पनि उनी नियमित रूपमा आर्थिक विषयमा धारणा राख्ने सक्रिय अर्थशास्त्रीका रूपमा चिनिन्छन्।

देशको केन्द्रीय बैंकको नेतृत्व सम्हाल्दै गरेका डा. पौडेलको नियुक्ति नेपालका लागि समावेशी, पारदर्शी र दीर्घकालीन आर्थिक स्थायित्वतर्फको एक महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।