राष्ट्र बैंकमा मेरो कोही ल्याउनु छैन, क्षमतावान व्यक्तिको नियुक्ति हुन्छ : प्रधानमन्त्री ओली

समाचार

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर पदमा व्यक्तिगत निकटताभन्दा बढी मेरिटोक्रेसी — अर्थात् योग्यताक्रम — लाई आधार मानेर क्षमतावान व्यक्तिको नियुक्ति गर्ने पक्षमा आफू रहेको स्पष्ट पारेका छन्।

पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “राष्ट्र बैंकमा मेरो कोही ल्याउनु छैन। मेरिटोक्रेसीका आधारमा क्षमतावान मान्छे ल्याउने हो। काम गर्न सक्ने मान्छे भए देशलाई भैहाल्छ। मेरो मान्छे भन्ने चाहिँदैन। म प्रधानमन्त्री हो, तर सरकारका म मात्र होइन। त्यसैले म सकेसम्म मेरिटोक्रेसीलाई महत्व दिन्छु।”

प्रधानमन्त्री ओलीले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष तथा सदस्यहरू पनि सिफारिस समितिको सुझावका आधारमा, क्षमता र योग्यताका आधारमा नै नियुक्त भएको बताएका छन्।