आज देशैभरिका त्रिवि क्याम्पसहरूमा स्ववियु चुनाव : विवाद, तालाबन्दी र सुरक्षा चुनौतीबीच मतदान!

राजनीति समाचार

काठमाडौं – त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ, जबकि त्रिवि केन्द्रीय क्याम्पसमा भने चैत ८ गते मतदान हुने भएको छ।

विशाल संख्यामा विद्यार्थी मतदाता सहभागी हुने अपेक्षा गरिएको चुनावमा त्रिवि केन्द्रीय क्याम्पसमा २१ सदस्यीय स्ववियु निर्वाचित हुनेछन्। ११ जना प्रत्यक्ष र १० जना समानुपातिक प्रणालीबाट चयन गरिनेछन्। मतदानका लागि ६,१४६ विद्यार्थी योग्य मतदाता रहेको जनाइएको छ।

चुनावमा अध्यक्ष, सचिव र कोषाध्यक्ष पदका लागि प्रत्यक्ष मतदान हुनेछ, भने उपाध्यक्ष र उपसचिवसहित २१ सदस्य निर्वाचित भएपछि ती पदहरू आन्तरिक चयन प्रक्रियाबाट टुंग्याइनेछन्। कुनै संगठनले बहुमत ल्याएमा उपाध्यक्ष र उपसचिव सोही संगठनकै सदस्यबाट चयन हुनेछन्, अन्यथा सहमतिमा वा मतदान प्रक्रियाबाट तय गरिनेछ।

यही बीच, त्रिवि क्याम्पसमा पहिलोपटक इलेक्ट्रोनिक भोटिङ मेसिन (EVM) प्रयोग गरिनेछ। निर्वाचन समितिका अनुसार मतदानका लागि २० वटा यन्त्रहरू प्रयोग गरिनेछन्।

तर, निर्वाचनको पूर्वसन्ध्यामा त्रिवि परिसरमा अशान्तिको बादल मडारिएको छ। अनेरास्ववियुले सोमबार मध्यराति रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा तालाबन्दी गरेको छ। क्याम्पस प्रशासनले फर्जी परिचयपत्र (नक्कली कार्ड) वितरण गरेको आरोप लगाउँदै अनेरास्ववियुले क्याम्पस प्रशासनको कार्यशैलीको विरोध गर्दै निष्पक्ष छानबिनको माग गरेको छ।

यसैबीच, सुरक्षा चिन्ताका कारण अमृत साइन्स क्याम्पसमा आज हुने भनिएको स्ववियु निर्वाचन आकस्मिक रूपमा स्थगित गरिएको छ। निमित्त क्याम्पस प्रमुख होमबहादुर बानियाँले सूचना जारी गर्दै विद्यार्थी संगठनहरूबीच सहमति नजुटेको कारण मतदान स्थगित गर्नुपरेको उल्लेख गरेका छन्।

स्ववियु निर्वाचनको निष्पक्षता सुनिश्चित गर्न राष्ट्रिय मानव अधिकार आयोगले मतदान प्रक्रियामाथि अनुगमन गर्ने भएको छ। सुरक्षा चुनौतीबीच त्रिवि क्याम्पसहरूमा आजको चुनाव कसरी सम्पन्न हुन्छ भन्ने चासो बढेको छ।