छठ पर्वलाई राष्ट्रिय पर्वको रूपमा स्थापित गर्नुको सट्टा संकुचित गर्न खोजियो : प्रभु साह

राजनीति

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले आस्थाको महान पर्व छठलाई राष्ट्रिय पर्वको रूपमा स्थापित गरि अन्तर्राष्ट्रियकरण गर्नुको साटो अहिले क्षेत्रीय पर्वको रूपमा सिमित गराउन खोजिएको भन्दै आपत्ति जनाएका छन् । साहले वैज्ञानिक महत्व बोकेको यस महान पर्वलाई युनेस्कोको इन्टाजिवल कल्चरल हेरिटेज लिष्टमा समावेश गर्न पहल गर्नुपर्नेमा अहिले नयाँ भनिएकाहरू उल्टै यस पर्वलाई जनकपुर र वीरगञ्जमा मात्रै सिमित गराउन उद्धत रहेको आरोप लगाए ।

चार दिनसम्म मनाईने यस पर्वमा अहिलेको सरकारले जम्मा दुई दिनमात्रै सार्वजनिक बिदा दिएर सञ्जालमा ठूलो काम गर्यौं भनेर ढोल पिटेकोमा पनि साहले आपत्ति जनाए । उनले चार दिनसम्म मनाउने पर्वमा चारै दिन बिदा दिनुपर्नेमा त्यसा नगरिएकोमा गुनासो पोखे ।

छठ पर्व मधेशमा मात्रै नभएर सिंगो देश र विदेशको कुना कुनासम्म फैलिएको उल्लेख गर्दै साहले अहिले काठमाडौंबाट केही नेताहरुको लावालस्कर मधेश झरेर यसलाई क्षेत्रीय पर्वको रुपमा सिमित गराउन खोजेको आशंका व्यक्त गरे । उनले छठ पर्वको प्रभावलाई अझै प्रभावशाली बनाउनुको साथै विश्वव्यापी विस्तार गरिनुपर्ने उल्लेख गरे ।

उनले भने ‘यो पर्वलाई संकुचित गरिनु हुँदैन, यसलाई राष्ट्रिय पर्वको रुपमा स्थापित गरिनुपर्छ ।’

सो क्रममा उनले सूर्य उपासनाको महापर्व छठ पूजाको पावन अवसरमा सबैमा शुभकामनासमेत व्यक्त गरेका छन् ।

उनले भनेका छन्, ‘लोक आस्थाको यस पवित्र अनुष्ठानमा सूर्यदेव तथा छठी माताको आराधनामा समर्पित सम्पूर्ण व्रतालुहरूप्रति हार्दिक नमन ! छठी माताको असीम कृपाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको उज्यालो छाओस् । समाजमा प्रेम, सद्भाव र एकताको भावना अझ प्रगाढ बनोस् । यही हार्दिक मङ्गलकामना !’