दक्षिण कोरियामा निलम्बित राष्ट्रपति युन सुक योलविरुद्ध पक्राउ पुर्जी जारी

अन्तराष्ट्रिय समाचार

 

 

दक्षिण कोरियामा निलम्बित राष्ट्रपति युन सुक योलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। सियोल पश्चिमी जिल्ला अदालतले मंगलबार यो आदेश दिएको हो। दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी भएको यो पहिलोपटक हो ।

राष्ट्रपति योलले यसअघि डिसेम्बर ३ मा सैनिक शासन (मार्शल ल) लागू गर्ने निर्णय गरेका थिए।  यस निर्णयले व्यापक विरोधको सामना गरेपछि उनले ६ घण्टामै निर्णय फिर्ता लिएका थिए। सोही कारण संसदले महाभियोग प्रस्ताव पारित गरी उनलाई पदबाट निलम्बन गरेको थियो।

भ्रष्टाचार अनुसन्धान कार्यालयले राष्ट्रपति योललाई तीनपटक बयानका लागि बोलाएको थियो। तर, उनले उपस्थित हुन अस्वीकार गरेपछि अनुसन्धानमा बाधा पुगेको भन्दै अदालतमा पक्राउ पुर्जीको निवेदन दिएको थियो। मंगलबार बिहान अदालतले पक्राउ पुर्जी जारी गर्नुका साथै अनुसन्धानका लागि खानतलासीको आदेश पनि दिएको छ।

दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल २०२२ मा पदभार ग्रहण गरेका थिए। उनी पूर्व मुख्य अभियोजनकर्ता हुन् र आफ्नो कठोर कानूनी दृष्टिकोणका लागि परिचित छन्। योलको राजनीतिक करियरको मुख्य आधार भ्रष्टाचार विरोधी अभियान थियो, जसले उनलाई दक्षिण कोरियाको उच्च पदमा पुर्‍यायो।

उनको नेतृत्वको शैली र विवादास्पद निर्णयहरूले दक्षिण कोरियाली राजनीतिमा गहिरो बहस र ध्रुवीकरण ल्याएको छ। यो घटनाक्रमले देशको लोकतान्त्रिक प्रक्रियामा गम्भीर प्रभाव पार्न सक्छ।