हस्पिटालिटी क्षेत्रलाई राष्ट्रिय प्राथमिकता, आजको आवश्यकता : प्रसिद्ध बहादुर पाण्डे

पर्यटन

बिस वर्ष निरन्तर संघर्ष : सरकार अझै रनभुल्ल

के कुरालाई राष्ट्रिय प्राथमिकतामा राख्ने ? के मा हाम्रो प्रतिस्पर्धी क्षमता छ ? कुन क्षेत्रबाट राष्ट्रिय लाभ हासिल गर्ने ? भन्ने जस्ता आधारभूत विषयहरू मै हाम्रो देशमा ठुलो अन्योल छ । नेपालमा टुरिजम, हाइड्रो, कृषि क्षेत्र जसले नेपालको इकोनमिक ल्यान्डस्केप नै परिवर्तन गर्नसक्छ त्यस्तो क्षेत्रमा विशेष व्यवस्था गरिनुपर्छ भन्ने महसुस गरेर मैले आफू होटेल संघ नेपाल हानको अध्यक्ष हुँदा यसको वकालत गरेको हुँ । यसै अनुरूप करिब २० वर्ष अघि नेपालमा होटल उद्योगलाई राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगको सूचीमा समावेश गरिनुपर्छ भन्ने माग होटेल संघ नेपाल हानले उठाएको हो ।

मेरो पहलपछि हान नेतृत्वले लगातार धेरै पूर्ववर्ती सरकारहरूसँग बृहत् छलफल गरेका थियौ , यसको आवश्यकता औचित्य र राष्ट्रिय स्तरमा यसबाट हासिल हुने प्रतिफलको पूर्वानुमान समेत प्रष्ट रुपमा सरकारहरू सामु प्रस्तुत समेत गरेका छन् र आजसम्म यो प्रक्रिया निरन्तर जारी छ । विडम्बना ! या त हामी व्यवसायीले यसको आवश्यकता सरकारलाई बुझाउन सकेनौ अथवा सरकार तथा प्रशासनतन्त्र बुझ पचाएर बसेको छ, अहिले व्यवसायी र सरकार बीचको ज्ञाप भनेको पनि यहि नै हो । अहिलेसम्म पनि होटलले उद्योगको मान्यता नै पाउने कि नपाउने भन्ने मै कनफ्युजनमा देखिन्छ, सरल रूपमा भन्दा विषय र क्षेत्रको महत्व प्रति बुझाइको अभाव मात्र हो अन्य केही होइन ।

सन्दर्भ र सान्दर्भिकता
क्यापिटल बेस कै आधारमा हेर्ने हो भने टुरिस्ट स्ट्यान्डर्ड होटलहरूमा न्यूनतम ५० करोड हाराहारीको लगानी आवश्यक हुन्छ, फाइभ स्टार होटलहरूको सन्दर्भमा हेर्ने हो भने २/३ अर्ब घटीमा त यसको निर्माण गर्ने कल्पना नै गर्न सकिन्न । अझ काठमाडौँमा सिटी होटलको रुपमा फाइभ स्टार होटल सञ्चालन गर्न ५/७ अर्ब देखि ८/१० अरबको लागत निस्किन्छ । अब यो स्केलको क्यापिटल इन्भल्भ हुने उद्योगले राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको दर्जा प्राप्त किन गर्नुपर्छ भनेर भन्नु भनेको बुझी-बुझी नबुझेको नाटक गर्नु बाहेक अरु के हो त ?

नेपालको आर्थिक समृद्धिको लक्ष्य प्राप्त गर्न खाली समृद्धिको नारा लगाएर मात्र हुने होइन , यसको लागि नेपालको इकोनमिक ल्यान्डस्केप नै परिवर्तन गर्न सक्ने क्षेत्रलाई सरकारले प्रमोट गर्ने हो । आर्थिक समृद्धिको मुख्य आधार नै पुँजी परिचालन हुन्छ, चाहे त्यो सरकारी पूँजी होस्, निजी क्षेत्रको पूँजी होस् अथवा जनस्तरबाट चलायमान हुने पुँजी होस्, बेस त क्यापिटल नै हुन्छ । अब यो क्यापिटल मोबिलाइज कहाँ गर्ने अर्को अहम् प्रश्न हो, जुन क्षेत्रमा अधिक तुलनात्मक लाभ हुन्छ त्यस तर्फ नै पुँजी चलायमान हुन्छ, यो नै पुँजी प्रवाहको सर्वमान्य सिद्धान्त हो ।

नेपालको सन्दर्भमा टुरिजमको स्कोप देशको दुइ तिहाइ भूगोल मै रहेको छ, यसको लागि बिकट, दुर्गम तथा कठिन भौगोलिक स्थानहरू समेत व्यवसायिक सम्भाव्यता रहेको क्षेत्र हो । हाम्रो कल्चर, हेरिटेज र नेचर नै हाम्रो यूएसपी हो, टुरिजमको वास्तविक कच्चा पदार्थ हुन् । यसले गर्दा सरकारले टुरिजम इन्डस्ट्री प्रमोट गर्दा दुइ तिहाइ नेपाल नै लाभान्वित हुन्छ । देश समृद्ध गर्ने यो भन्दा राम्रो फर्मुला अरु के हुन्छ ? यसरी नै दिगो विकास हासिल हुने हो, देशभरि रोजगरी सिर्जना गर्ने हो ।
कोभिडपछि विश्व पर्यटनमा एउटा ठूलो परिवर्तन आएको छ त्यो हो ” ब्याक टु नेचर ” , हाम्रो देश नेपाल यस अर्थमा आज सबैको चोइसमा पर्न पुगेको छ, हाम्रो देशमा प्रकृतिको विशेष कृपा रहेको छ, यहाँको हिमाल, पहाड, ताल, तलैया वन जंगल नेपालको ल्यान्डस्केप नै हाम्रो एसेट हो । नेपाल मेडिटेसनको हिसाबले स्वर्ग हो, त्यसै हाम्रा पितापुर्खाले यो माटोलाई तपोभूमि भनेका होइनन् । मिस्टिक पावरको सबै भन्दा नजिक नेपाल रहेको छ । अब हामीले कति पर्यटक भित्र्याउने त्यो हामीमा निर्भर रहने कुरा हो । यहाँ ५० लाख / ६० लाख त के एक करोड पर्यटक भित्र्याउन समेत हामीलाई कुनै चुनौती छैन, चुनौती हाम्रो नियत, राज्य को नीति, कमिटमेन्ट र म्यानेजमेन्टको मात्र हो ।

पर्यटन :आर्थिक विकासको इन्जिन, इकोनोमिक बुस्टर
यसै कारण मैले होटेल संघ नेपाल हान मार्फत होटल उद्योगलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको सूचीमा राख्नु पर्छ भनेर आवाज उठाएको हो, यो विषय कुनै एउटा व्यवसायिक समुह अथवा व्यक्तिको हित रक्षाको स्वार्थमा नभएर समग्र राष्ट्रिय हितलाई मध्यनजर राखेर उठाएको मुद्दा हो । नेपालको ओभरअल डेमोग्राफीक डेभलपमेन्टको संवाहक पर्यटन उद्योग हो र यसैले जीडीपीमा हाइएस्ट कन्ट्रिब्युसन गर्नसक्छ भन्ने हामी सबैको बुझाइ हो, तर के गर्ने सरकारले यति सिम्पल कुरा पनि बुझ्दैन के गर्ने ?

पर्यटन उद्योगको अर्को एउटा गुण भनेको यसको स्थाई प्रकृति समेत हो । बिभिन्न उद्योगहरूको विभिन्न लाइफ साइकल हुन्छन, कसैको १० वर्ष, कसैको ५० वर्ष तर टुरिजममा यो लिमिटेसन हुँदैन । हाम्रै देशमा कहिले गार्मेन्ट उदाउँछ र हराउँछ, कहिले कार्पेट, कहिले स्टिल उद्योग बलियो भएर आउँछ, कहिले सिमेन्ट तर के नेपालको टुरिजम पोटेनसियलमा ह्रास, कमी आउला त, अवश्य आँउदैन । यसको स्थाई प्रकृति रहन्छ, हो कहिलेकाहीं तल माथि पर्ला, हिजो माओवादी जनयुद्ध, रोयल मेसेकर, भुकम्प तथा कोरोना महामारीको कारणले टुरिजम इन्डस्ट्रीमा समेत सेटब्याक नभएका होइन, भएका छन् । तर यस्तो इम्प्याक्ट शर्ट टर्मको लागि हुने गरेको पाइन्छ, केही समय अवस्था सामान्य हुने बितिक्कै यसको इन्डिकेटर माथि गइहाल्छ, यो टुरिजम इन्डस्ट्रीको मजबुत पक्ष हो ।

टुरिजम इन्डस्ट्री ड्राइभिङ फोर्स हो, यसले ट्राभल, एयरलाइन्स लगायत थुप्रै अरु इन्डस्ट्रीहरुलाई चलायमान बनाउँछ । आज नेपाल एयरलाइन्स सक्षम भएको भए राष्ट्रले कति राजस्व र विदेशी मुद्रा आर्जन गर्नसक्थ्यो, आज नेपाल एयरलाइन्स विक हुँदा यो बिजनेस फरेन एयरलाइन्सको हातमा रहेको छ ।

नेपालको सन्दर्भमा टुरिजमको जीडीपीमा योगदान ६/७ प्रतिशत रहेको तथ्याङ्क देखिन्छ, तर यसको मल्टिपल इम्प्याक्टको सूक्ष्म अध्ययन र प्रोपर क्याल्कुलेसन गर्ने हो भने यो मेरो अनुमानमा १५ देखि २० प्रतिशत सम्म हुनुपर्ने हो । १० अरबको क्यापिटल हुने होटलहरुको प्रति वर्ष ३ अरब भन्दा माथिको टर्न ओभर हुने हुन्छ, होटेलहरुले फूड आइटमहरुमध्ये अधिकांश हिस्सा लोकल मार्केटबाट खरिद गर्ने गर्दछन् । लोकल बेभरेजको एउटा ठुलो हिस्सा हुन्छ । एउटा केस स्टडी नै हेरौँ न दरवार हत्याकाण्डको समयमा करिब १ महिना भन्दा बढी शून्य पर्यटकको अवस्था सिर्जना भएको थियो, त्यो बेला नेपाली पोल्ट्री व्यवसायीहरूले अण्डाको माग नहुँदा फाल्नु पर्ने स्थिति आएको थियो, यस्तै अवस्था फ्रेस मिल्कको पनि थियो । दूध, अण्डा जस्ता वस्तु लामो सयम स्टोर गरेर राख्न सकिदैन र होटल रेस्टुरेन्टहरुमा यस्तो उत्पादनहरु दैनिक ठुलो माग हुन्छ – यो एउटा इन्डीकेटरले प्रष्ट पार्छ, होटेल उद्योगको नेपालको अर्थतन्त्रमा कुन स्तरको ब्याकवार्ड फरवार्ड लिंकेज रहेको छ ।

त्यो भन्दा ठुलो प्रभाव रोजगारी सिर्जनामा रहन्छ, आजको दिन धरै उद्योगहरु अटोमेटिक हुँदै गएका छन् तर टुरिजममा ह्युमन टच नै यसको बेसिक हो । होटलहरुको १५ देखि २० प्रतिशत खर्च त श्रम तर्फ नै जान्छ । एउटा लक्जरी होटलमा एउटा रुमको लागि २ देखि ४ जना जनशक्ति प्रयोग भइरहेको हुन्छ । यसरी क्याल्कुलेसन गर्ने हो भने होटलहरुको डोमेस्टिक एक्स्पेन्सेस नै ८० प्रतिशत हुनपुग्छ ।

सरकारी तथ्याङ्ककै आधारमा टुरिजमको जीडीपीको अहिलेको हिस्सा ६ प्रतिशतलाई बेस मानेर हेरौ, अहिले हाम्रो टुरिस्ट अराइभल १० लाख मात्र छ । यदि टुरिस्ट अराइभल डबल हुने हो भने यो सिधै १२ प्रतिशत सहजै पुग्छ । देशभित्र यो भन्दा अधिक टुरिस्ट होल्ड र इन्टरटेन गर्नसक्ने क्षमाता अहिले नै विद्यमान छ, यो कुनै बिग डिल होइन । अन्य उद्योगहरुबाट यस्तो इन्सटेन्ट इम्प्याक्ट प्राप्त गर्न मुस्किल हुन्छ, हाइड्रो, सेग्मेंट जस्तोमा समेत ७/८ बर्ष लाग्ने हुन्छ ।

होटल इन्डस्ट्रीलाई नेसनल प्रायोरिटीमा ल्याउनासाथ यसले अर्को सिनर्जी पैदा गर्छ । नेपालमा अहिले नेसनल प्रायोरिटीमा होटल उद्योग नहुँदा समेत अहिले अर्बौको लगानी यो क्षेत्रमा छ, धमाधम अन्तर्राष्ट्रिय चेन होटलहरूको म्यानेजमेन्ट नेपाल प्रवेश गर्दै छन् , नेपाली व्यवसायीहरू प्यासनेट भएर आज होटल इन्डसट्रीमा लगानी गरिरहेका छन् । होटल इन्डस्ट्रीलाई नेसनल प्रायोरिटीमा ल्याउनासाथ यसमा वैदेशिक लगानी ठूलो मात्रामा देशमा भित्रिने निश्चित छ । अहिले देशमा १०० वटा ठुला होटलले यस्तो इम्प्याक्ट परेको छ भने भोली दुई हजार ठूला लगानीको होटल संचालन हुने अवस्थामा यसले देशको समग्र अर्थतन्त्रमा आजको तुलनामा दसौ गुणा बढी प्रभाव पर्ने नै छ, चलायमान बनाउने छ । यसकारण नेपाल सरकारले अब नेपालको होटल इन्डस्ट्रीलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगका रुपमा विकास गर्न विशेष पहल गर्नुपर्छ तथा चाँडो भन्दा चाँडो यसलाई नेसनल प्रायोरिटीमा ल्याउनुपर्छ ।

(यो आलेख होटल एसोसिएसन नेपालका पूर्व अध्यक्ष, प्रसिद्ध बहादुर पाण्डे संग इन्स्टाखबर डटकमका कार्यकारी सम्पादक लभेश प्याकुरेलले गर्नुभएको भिडियो अन्तर्वार्ताको आधारमा तयार पारिएको हो, भिडियो अन्तर्वार्ता यसै साथ संग्लंग रहेको छ ।)