काठमाडौँ जिल्ला प्रशासन कार्यालयले तीज मनाउने क्रममा अनावश्यक तडकभडक सहितका खर्चिला कार्यकमहरु बढ्दै गएको भन्दै सचेत गराएको छ ।
प्रशासनले बिहीबार सूचना जारी गर्दै सामाजिक व्यवहार (सुधार) ऐन, २०३३ र सामाजिक व्यवहार (सुधार) नियमावली, २०३३ ले धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्वहरू मनाउने विषयलाई व्यवस्थित र नियमन गरेको स्मरण पनि गराएको छ ।
आफ्नो परम्परा एवम् सामाजिक रीतिरिवाजलाई मौलिक रूपमा संरक्षण र संवर्द्धन गर्नेबाहेक अन्य कुनै पनि खालका तिजसँग सम्बन्धित खर्चिला एवम् भड्किला कार्यक्रमहरू सञ्चालन नगर्न नगराउनु अनुरोध गर्दै अनावश्यक तडकभडक र फजुल खर्च नियन्त्रण गरी असल संस्कारको विकास गर्दै जानु सबैको कर्तव्य भएकाले सबै राजनीतिक दल, नागरिक समाज, पेसागत सङ्घ संस्थाहरू, सञ्चारकर्मीहरू, महिला सञ्जाल तथा सम्पूर्ण जिल्लावासीहरूबाट प्रशासनले सहयोगको अपेक्षा गरेको छ ।



