नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउने व्यक्तिको तस्बिर सार्वजनिक, पहिचान खुल्न बाँकी

अन्तराष्ट्रिय

अमेरिकामा हत्या गरिएकी नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउने व्यक्तिको तस्बिर सार्वजनिक भएको छ।

बुधबार ह्युस्टन प्रहरीले अभियुक्तको तस्बिर सार्वजनिक गरेको हो। यद्यपि अभियुक्तको पहिचान भने खुलिनसकेको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै अमेरिकाबाट प्रकाशन हुने नेपाली अखबार नेप्योर्कले उल्लेख गरेको छ।
ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत २१ वर्षीया मुना पाण्डे सोमबार साँझ आफ्नै घरमा हत्या गरिएको अवस्थामा भेटिएकी थिइन्। उनीमाथि गोली प्रहार भएको थियो।

सिसीटिभी फुटेजअनुसार मुना मृत भेटिएको स्थानमा अभियुक्त अगस्ट २४ को बेलुका ९ बजेर ४८ मिनेटमा देखिएका छन्।

प्रहरीले ती व्यक्ति को हुन् भन्ने पहिचान नभएको बताएको छ। यद्यपि मुना प्रेम सम्बन्धमा रहेको भनिएको अमेरिकी युवक ती अभियुक्त नरहेको पनि प्रहरीलाई उद्धृत गर्दै नेप्योर्कले लेखेको छ। प्रहरीले अभियुक्त पहिचानका लागि समूदायको सहयोग मागेको छ। चिन्ने र देख्ने व्यक्तिहरूलाई प्रहरीमा खबर गर्न भनिएको छ।

गत सोमबार साँझ साढे ५ बजे टेक्सासस्थित ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत २१ वर्षीया युवती मुना पाण्डेको हत्या भएको थियो।

मुना भोजपुरकी हुन्।
शनिबारदेखि सम्पर्कविहीन रहेकी उनी सोमबार आफ्नै घरमा मृत भेटिएकी थिइन्। ह्युस्टन प्रहरीले उनीमाथि एकभन्दा बढी राउन्ड गोली प्रहार भएको बताएको छ।

नेप्योर्कले काठमाडौंमा रहेकी मुनाको आमा अनिता पाण्डेसँग समेत कुरा गरेको थियो।उनले शनिबारदेखि छोरी आफ्नो सम्पर्कमा नरहेको बताएकी थिइन्।आफ्नी छोरी एकजना अमेरिकी नागरिकसँग प्रेम सम्बन्धमा रहेको र सम्बन्धलाई लिएर केही तनावमा रहेको पनि अनिताले नेप्योर्कसँग बताएकी थिइन्।

प्रहरीले सिसीटिभीमा हेर्दा ती व्यक्ति नरहेको बताइसकेको छ।
मुना सन् २०२१ मा अध्ययनका लागि अमेरिका गएकी थिइन्। मुनाको शव पोस्टमर्टम गरी ह्युस्टन प्रहरीले घटना अनुसन्धान गरिरहेको छ।

अमेरिकामा अर्की नेपाली युवतीको पनि निर्मम हत्या