नेपाल भारतको सम्बन्धको कुरा गर्दा ‘रोटी बेटी का सम्बन्ध’ भन्ने वाक्यांस सबैभन्दा पहिले आउँछ । तथाकथित राष्ट्रवादको बर्को ओढेर नहेर्ने हो भने साँच्चै विशिष्ठ छ नेपाल भारत सम्बन्ध । विशेषगरी लम्बेतान फैलिएको नेपालको तराइको सिमाना अनि सुदूर पुर्वी र सुदूर पश्चिमी पहाडका वासिन्दाका लागि त दुई देशबीचको सम्बन्धमा कुनै सिमाना नै छैन ।
रोटीका लागि सस्तो सौदा किन्न सिमानाका नेपालीको बजार भारत नै हो भने सस्तोमा चिनिया लत्ताकपडा किन्न भारतीयको बजार नेपाल । अनि बेटी त यताका उता, उताका यता छन् नै । माइती मान्न ओहोर दोहोर हुने नै भयो । त्यसैले रोटी बेटीको सम्बन्ध त छ नै । तर पनि किन छ त नेपालीमा भारतप्रति अविश्वास ?
यसको एउटा कारण त भारतको ‘बडा भाई’ व्यवहार नै पनि हो । भुपरिवेष्ठित देश नेपालको अन्तर्राष्ट्रिय हक समेत भारत खैरातमा दिएको व्यवहार गर्छ । भारतीयहरूमा एउटा आम विश्वास छ नेपाल निकै गरिब देश छ, नेपाल भारतको सहयोगबिना उभिन सक्दैन । भारत नेपाललाई चाहिन्छ, त्यसमा सत्यता छ । तर, भारतबिना नेपाल नै छैन त्यसमा सत्यता छैन ।

नेपालको समृद्धि भारतको सहयोगमा नै अन्यान्यास्रित छ । यो सत्यता भन्न डराउनु पर्दैन । नेपालले यति विकसित हुने हो, उत्पादन बढाउने हो भने त्यसको सहज बजार भारत नै हो । नेपालले सपना देखेको विजुली बेचेर समृद्ध हुने चाहना भारतबिना सम्भव छ र ?
नेपालबाट सबैभन्दा नजिक तेस्रो मुलुक बंग्लादेशलाई विद्युत बेच्न पनि भारतकै बाटो चाहिन्छ । अर्को नजिकको मुलुक भुटान त विजुलीमा आफै आत्मनिर्भर छ र भारतलाई विजुली बेच्दै छ । बंग्लादेशपनि भुटानको दृष्टिबाट टाढा छैन । बिजुली बेचेर समृद्ध हुनु छ भने नेपालको बजार भारत नै हो । किन्ने मान्छेको शर्त त हुन्छ नै, बजारमा किन्नेले खोज्ने भनेको सस्तो अनि राम्रो नै हो । बेच्नेले कति थेग्न सक्छ र किन्नेलाई तत्काल आवश्यकता कस्तो छ भन्नेमा नै बजार भाउ निर्भर हुने हो । भारतको स्वार्थमा फोस्रो राष्ट्रवादले काम लाग्दैन । त्यसले राजनीतिमात्र हुन्छ ।
चुच्चे नक्सा अनि नाभी, गुन्जीमा जनगणना गर्ने कुराले केही बेर राष्ट्रवादले गर्व गर्नसक्छ । तिंकरका वासिन्दाको रोटी रोकिन्छ । जुन भएको पनि छ । त्यसैले व्यापारमा राष्ट्रवादले फाइदा गर्दैन होला ?
देशको जमिनको लागि आवाज उठाउनु नराम्रो कुरा होइन । काली नदी (महाकाली)को मुहानको विवाद नयाँ होइन । नाभी, गुन्जी र कुतीमा अंग्रेजको जमाना देखि नै भारतको पकड छ । तर नेपालले दावी कहिल्यै छोडेको पनि छैन ।
नेपालले सुगौली सन्धि लगत्तै गर्दै आएको दावी अनुसार नै पनि अहिले जारी भएको नक्सा स्वभाविक हो । सुगौली सन्धिले गरेको प्रावधान अनुसार काली नदीको वास्तविक धारा हेर्ने हो भने पनि नेपालको नक्सा सँधै यस्तै हुनुपर्ने हो । व्यासका तीन गाउँमा जमीनमा जसको कब्जा भएपनि नेपालले आप्mनो भूमि भनी दावी गरेपछि नेपालले जारी गरेको नक्सामा त्यो भूमि हुनुपर्ने हो । कश्मिरका विवादित भूमिलाई चीन, भारत र पाकिस्तानले आ–आफ्नो नक्सामा देखाएको जस्तै ।
अनि कालापानी त भारतले नै मानेको काली नदी भन्दा पनि वारीकै भु भाग हो । त्यसैले त्यसमा नेपालको दावी पुख्ता छ । भुमीको विवाद विभिन्न ठाउँमा छ । भुमीको विवाद नसुल्झिनु भारत नेपालको सम्बन्धको एउटा ‘गम’को पक्ष हो ।
‘खुसी’ पक्ष नेपाललाई अप्ठेरो पर्दा अधिकांश अवस्थामा भारतसँगै उभिएको हुन्छ । चाहे त्यो भुकम्पको बेला सहयोग गर्न होस् वा नेपालको आर्थिक विकासमा सहयोगीको भुमिकामा होस् । नेपाललाई सबैभन्दा धेरै आर्थिक सहयोग गर्ने मुलुकहरू मध्ये निर्विकल्प रूपमा भारत पर्छ । अनि नेपालको आर्थिक समृद्धिको लागि विश्वकै सबैभन्दा बढी जनसंख्या भएको भारत एउटा बजार पनि हो । भारत विश्वमा बढ्दै गइरहेको आर्थिक शक्तिपनि हो । सँगै समारिक शक्ति पनि हो ।
भारतका स्वार्थ पनि छन् । नेपालसँगको सम्बन्धपनि स्वार्थ रहित छैन । भारत नेपाललाई आफ्नो सुरक्षा छातामुनी देख्न चाहन्छ । विशेष गरी नेपालको चीनसँगको निकटता भारतकालागि सह्य हुँदैन । भारत हरदम नेपालको चीनसँगको सम्बन्धप्रति सशंकित रहन्छ । भौगोलिक रूपमा विकट रहेको सिमानामा पर्ने चीन भन्दा नेपालको आर्थिक उन्नतीकालगि भारत आवश्यक छ भन्ने भारतले बुझेको छ । त्यसैले नेपालको बाध्यात्मक अवस्थाको फाइदा उठाउन पनि भारतले चाहेकै हुन्छ । यही बाध्यात्मक अवस्था नेपालको दुर्भाग्य पनि हो ।
यही दुर्भाग्यपूर्ण अवस्थाले कहिलेकाहीँ कतिपय नेताहरूको मनस्थितिमा शरणागत हुने अवस्था पनि सिर्जना गर्छ । त्यसैले कहिलेकाहीँ नेताहरू मनरो डक्टरिनको हवाला दिँदै भारतका क्षेत्रिय स्वार्थहरूप्रति हामी मौन समर्थक भइदिनु पर्छ पनि भन्छन् । अहिलेको विश्व व्यवस्था कोही कसैको सुरक्षा छातामा बस्ने अवधारणा स्वीकार गर्न तयार छैन । वार्सा प्याक्टको विगटन पछि अहिले विश्वका अधिकांश देश अमेरिकी हित भन्दा बाहिर छैनन् । भारत पनि अमेरिकी हितलाई आघात नपु¥याई क्षेत्रिय शक्ति बन्ने चाहना राख्छ । त्यसकालागि दक्षिण एशिया उसको प्रभाव क्षेत्र रहीरहोस् र यस क्षेत्रका देश उसको हित विपरित नजाउन भन्ने भारत चाहन्छ ।
दक्षिण एशियाका देश आप्mनो हित विपरित नजाउन भन्ने उसको चाहना स्वाभाविक छ । तर अन्य देशको सापेक्ष यहाँका मुलुकले भारतको हितको लागि काम गरुन भन्ने चाहना भने सर्वथा स्वीकार्य हुन सक्दैन । अहिले विश्वका सबै देश अन्य देशको हितलाई आघात नगरिकन आफ्नो देशको हितका लागि काम गर्न स्वतन्त्र छन् । मनरो डक्टरिनको बेला जस्तो शक्ति राष्ट्रयहरूले विश्वका देशलाई आफ्नो प्रभाव क्षेत्रको रूपमा भाग लगाउने अवस्था अहिले छैन ।
भारतले दक्षिण एसियाली राष्ट्रहरूसँग मित्रतापुर्ण, निश्वार्थ र एक समझदार साथीको व्यवहार गर्दा नै भारतको हित हुन्छ भन्ने मत भारतभित्रै बलियो छ । दक्षिण एशियामा दादा बन्न खोज्दा भारतकै अहित छ भन्ने विद्वानहरू भारतभित्र प्रसस्त छन् । बेला बेलामा भारतको शीर्ष नेतृत्वको बोलीमा पनि यहि कुरा झल्किन्छ । तर व्यवहार यदाकदा फरक हुने गरेको छ । त्यसैले पनि नेपाल मात्र होइन दक्षिण एशियाका अन्य मुलुकहरुले पनि भारतप्रति आशंका व्यक्त गर्ने गरेका छन् ।

अरूणदेव जोशी
(अरूणदेव जोशी स्वतन्त्र पत्रकार हुन् )
सबै सँग मित्रता, छैन कसै सँग शत्रुताको नीति नै नेपालको परराष्ट्र नीति : डा.राजन भट्टराई
