गत वर्ष निर्देशक मोहित सुरीले आफूले अक्षय कुमारसँग एक्सन थ्रिलर फिल्ममा काम गर्न लागेको बताएका थिए । यो फिल्मको निर्माण रोहित शेट्टीले गर्ने कुरा निश्चित थियो ।
मनोवैज्ञानिक एक्सन थ्रिलर फिल्म ‘साइको’का लागि उनीहरु सहकार्य गर्ने अन्तिम तयारी भइरहेको थियो । गत जनवरीबाट फिल्म सुटिङमा जाने कुरा भए पनि अहिलेसम्म जान सकेको छैन । अब भने यो फिल्मलाई निर्माताले ‘होल्ड’मा राखेका छन् ।
समाचारअनुसार अक्षय, मोहित र रोहित स्क्रिप्ट र कथाको ‘ट्रिटमेन्ट’लाई लिएर एकमत हुन सकेका छैनन् । ‘मोहित र अक्षय फिल्म एक निश्चित शैलीमा बनोस् भन्ने चाहन्छन्, तर रोहित भने केही व्यावसायिक बनोस् भन्ने ठान्छन् । स्क्रिप्ट सन्तुलित बनाए पनि रोहित त्यसमा सहमत हुन सकेनन् । अन्ततः सहमति नहुँदा फिल्मको काम केही समयका लागि रोकिएको छ’, स्रोतले भनेको छ ।
अक्षय र मोहित सन् २०१८ देखि नै टिम बनाएर काम गर्ने प्रयासमा छन् । तर पनि फिल्म निर्माणमा सहमति बन्न सकेको छैन ।
अक्षय अब साजिद नाडियाडवालाका लागि ‘हाउसफूल ५’ सुरु गर्दैछन् । यही बीचमा उनी केसी शंकरनको बायोपिक र ‘खेल खेल’को काम पनि सकाउने ध्याउन्नमा छन् । अक्षय र टाइगर श्राफको फिल्म ‘बडे मियाँ छोटे मियाँ’ मा रिलिजको तयारीमा छ ।