आज बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन

Politics

सिट बाँडफाँटबारे सहमति जुटाउन आइतबार बिहान बसेको सत्ता गठबन्धनको बैठक पुनः बिना निष्कर्ष टुंगिएको छ । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित शीर्ष नेताहरूबीच आइतबार गठबन्धनमा सिट बाँडफाँटबारे छलफल भएको हो ।

त्यसबारे शनिबार साँझ पनि छलफल भएको थियो । तर, आइतबार बिहानको छलफलसमेत बिना निष्कर्ष टुंगिएको एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । गठबन्धनले सिट बाँडफाँटका लागि कार्यदल बनाएको थियो । अहिलेसम्म कार्यदलमा के के भयो भन्नेबारे आजको बैठकमा जानकारी भयो,’ उनले भने, ‘अझैपनि धेरै कुराहरू मिलाउन बाँकी छन् । त्यसबारे आज सहमति हुन सकेन ।

भोलि फेरि बैठक बस्ने र सिट बाँडफाँटलाई अन्तिम रुप दिने कुरा भएको छ । उनका अनुसार सोमबार बिहान ८ बजे पुनः बस्ने गरी बैठक स्थगित भएको हो ।