Fintech Leap Forward: SCT SmartPay मा माछापुच्छ्रे र मुक्तिनाथको Big Entry

बैंक/वित्त

काठमाडौं । Smart Choice Technologies Limited (एससीटी) को स्मार्टपे नेटवर्कमा माछापुच्छे बैंक तथा मुक्तिनाथ विकास बैंक आबद्ध भएका छन्। यससँगै यी दुई बैंकका ग्राहकले इन्टरनेट बैंकिङमार्फत एससीटीको भुक्तानी स्वीच प्रयोग गरी सहज रूपमा रकमान्तर सेवा लिन सक्ने भएका छन्।

यस सम्बन्धमा आयोजित दुई छुट्टाछुट्टै कार्यक्रममा माछापुच्छ्रे बैंकका प्रमुख डिजिटल बैंकिङ अधिकृत माधव सुवेदी तथा मुक्तिनाथ विकास बैंकका उपनायव कार्यकारी अधिकृत तिलबहादुर गुरुङले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौता कार्यक्रममा दुवै बैंकका प्रतिनिधिहरूले एससीटीसँगको सहकार्यले ग्राहकलाई नवीन तथा अत्याधुनिक डिजिटल बैंकिङ सेवा प्रयोग गर्ने अवसर थप विस्तार गर्ने विश्वास व्यक्त गरे। उनीहरूले डिजिटल वित्तीय सेवाको पहुँच बढाउन र ग्राहक अनुभवलाई थप सहज बनाउन यो सहकार्य महत्त्वपूर्ण हुने बताए।

नेपालको डिजिटल भुक्तानी प्रणालीलाई थप सुदृढ बनाउने उद्देश्यका साथ भएको यस सहकार्यले बैंक तथा वित्तीय संस्थाबीचको अन्तरसम्बन्धलाई मजबुत बनाउँदै ग्राहकलाई अझ सुरक्षित, सहज र आधुनिक वित्तीय सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ।

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त एससीटी नेपालकै पुरानो तथा अनुभवी डिजिटल भुक्तानी सेवा प्रदायक संस्थामध्ये एक हो। नेपालको पहिलो डोमेस्टिक कार्ड ‘एससीटी कार्ड’ तथा एससीटी नेटवर्कमार्फत सेवा सुरु गरेको संस्थाले हाल २४ बैंक तथा वित्तीय संस्था र ३०० भन्दा बढी सहकारीमार्फत एससीटी युनियनपे कार्ड, भिसा कार्ड, डेबिट तथा क्रेडिट कार्ड, एटिएम सञ्जाल, पीओएस सेवा, स्मार्ट क्यूआर, मोबाइल तथा इन्टरनेट बैंकिङ सेवा र रकमान्तर सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।