धोबीखोला कोरिडोरको डुबान नियन्त्रणको लागि छुट्टै आयोजना बनाउन महामन्त्री थापाको सरकारसँग माग

Politics

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले धोबीखोला कोरिडोरको कपन–बुढानीलकण्ठ डुबान नियन्त्रणको लागि छुट्टै आयोजना बनाउन सरकारसँग माग गरेका छन् । आइतबार प्रस्तावित धोबीखोला कोरिडोरको कपन–बुढानीलकण्ठ डुबान नियन्त्रण आयोजना सम्बन्धित अन्तरक्रियालाई सम्बोधन गर्दै महामन्त्री थापाले छुट्टै आयोजना बनाउन माग गरेका हुन् । धोबीखोला कोरिडोरको कपन–बुढानीलकण्ठ डुबान नियन्त्रण गर्न अहिले विभिन्न खण्डमा स्थानीय नगरपालिका, प्रदेश सरकार र प्राधिकरणले समेत काम गरेको भन्दै थापाले अब एउटै आयोजनामार्फत काम गर्नुपर्ने बताए ।

थापाले सबै योजनाहरुलाई एउटै आयोजनामार्फत काम गरेर कपन–बुढानीलकण्ठ डुबान नियन्त्रणको काम गर्नुपर्ने बताए । उनले कोरिडोर क्षेत्रमा भएका खण्ड–खण्डका कामहरु सबै अब बन्ने आयोजनाअन्तर्गत ल्याउन पनि माग गरे । थापाले आफू यही क्षेत्रको जनप्रतिनिधि भएकाले कपन खहरेमा बाढी आउन साथ सबैभन्दा धेरै गाली खाने गरेको बताए । उनले अहिले कोरिडोर क्षेत्रमा दुई आना र पाँच आना जग्गामा सयौँ घरहरु बनेकाले बनेका घरहरुको समेत संरक्षण गर्नेगरी मास्टर प्लान बनाउन सुझाव दिए ।