
दुबईकी राजकुमारी हया बिन्त अल हुसैनले आफ्ना श्रीमान शेख मोहम्मद अल मकतूमले उनकी जेठी छोरीलाई कैद गरेर यातना दिइरहेको भन्ने कुरा थाहा पाएपछि महिनौं दिनसम्म भाग्ने योजना बनाएको खुलासा भएको छ । देशका शासकले आफ्नै छोरी राजकुमारी लतिफामाथि गरेको व्यवहारका कारण ४५ वर्षे राजकुमारी हयाले दुबई छोडेको पत्ता लागेको छ ।रिपोर्टमा बताए अनुसार उनले यस वर्षको सुरुवातदेखि नै भाग्ने योजना बुनिरहेको र मे महिनामा ब्रिटेन उड्नुअघि जर्मनी भागेकी थिइन् । राजकुमारी हया आफ्ना ११ र सात वर्षका दुई सन्तानसहित ब्रिटेनमा लुकिरहेको बताइएको छ । उनले ६८ वर्षका बिलियनेर श्रीमानसँग सम्बन्धविच्छेदका लागि प्रक्रिया चालेको बताइएको छ ।उनी वेस्ट लण्डनको केन्सिङ्टनस्थित आफ्नो घरमा बसिरहेको बताइन्छ । पारिवारिक श्रोतले मेल अनलाईनलाई भनेको छ, ‘राजकुमारी हयालाई उनका श्रीमानले आफ्नै छोरीमाथि गरेको क्रुर व्यवहार थाहा भएको र आफूमाथि पनि यस्तै हुने हो कि भन्ने डर भएकाले यस्तो गरेकी हुन् ।’‘गत वर्ष लतिफा दुबई छोडेर भागेकी थिइन् । शेखा लतिफा एक फ्रान्सेली व्यक्तिको मद्दतले डुङ्गामार्फत् दुबईबाट फरार भएकी थिइन् तर उनलाई भारतको तट नजिकै हतियारधारी रक्षकले हिरासतमा लिएर दुबई फिर्ता पठाएका थिए । दुबईका साशकले छोरीलाई कसैले अपहरण गरेको र उनलाई तुरुन्त उद्धार गर्नुपर्ने हयालाई बताएका थिए । श्रीमानको यो कुरा हयाले सुरुमा विश्वास पनि गरेको तर लतिफालाई जबरजस्ती दुबई फिर्ता गराएर उनलाई यातना दिएर कैद गरिएको थाहा पाइन् ।उनलाई श्रीमान र उनका आसेपासेले वास्तविकता लुकाएको भन्ने कुरा थाहा पाएपछि दुबईबाट भागेकी हुन् ।
