
काठमाडौं, १९ असार । भाषा मात्रै पढाउँदै आएको विश्वभाषा क्याम्पसमा एकेडेमिक कोर्स सञ्चालन हुने भएको छ । स्थापनाको ५८ वर्षपछि विभिन्न भाषासँग जोडेर क्याम्पसले स्नातक तहको कार्यक्रम सञ्चालन गर्न लागेको हो । नेपाली विद्यार्थीले समेत अध्ययन गर्न पाउने गरी यो कार्यक्रम त्रिविको विद्यापरिषद्ले स्वीकृत गरेको छ । विश्वभाषा क्याम्पसका प्रमुख भीमनाथ रेग्मीले आगामी सेप्टेम्बरबाट पहिलोपटक नेपाली विद्यार्थीका लागि स्नातक तहमा भर्ना लिने तयारी भएको बताए । प्राज्ञिक परिषद्बाट पारित भएपछि कार्यक्रम सुरु हुने उनको भनाइ छ । अघिल्लो वर्ष विदेशीका लागि नेपाली भाषामा स्नातक तहको कार्यक्रम सुरु भएको थियो । प्राज्ञिक मान्यता नहुँदा विश्वभाषा क्याम्पसमा तीन वर्ष अध्ययन गरे पनि उनीहरूले कुनै पनि सेवामा अवसर नपाउने भएकाले एकेडेमिक डिग्री सुरु गरेको रेग्मीले बताए । ‘विश्वभाषा क्याम्पसमा धेरैले भाषा पढे, तर त्यो भ्यालिड भएन,’ उनले भने, ‘क्याम्पसलाई माथिल्लो स्तरमा पुर्याउन र एकेडेमिक डिग्री पाउँदा विद्यार्थीलाई अवसर धेरै हुने भएकाले यस्तो प्रयास गरेका हौँ ।’ विश्वभाषामा स्नातक गरेका विद्यार्थीलाई स्नातकोत्तर तहको कार्यक्रममा भर्नाका लागि समेत बाटो खुल्नेछ । ‘भाषा पढेर कोही टुरिस्ट गाइड बने, कतिले धेरै सम्पत्ति पनि कमाए, तर यसको प्रमाणपत्रले मान्यता पाएको थिएन,’ उनले भने, ‘तीन–चार वर्ष पढे पनि अहिलेसम्म तालिम दिने संस्थाजस्तै भएको थियो ।’
