शुक्रबारदेखि प्रदर्शनमा आउने ‘सारथी’ले पायो युनिभर्सल सर्टिफिकेट, सपरिवार सँगै बसेर हेर्न मिल्ने

मनोरंजन
काठमाडौं । मंसिर ११ गते शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘सारथी’ले सेन्सर बोर्डबाट ‘युनिभर्सल’ (यू) सर्टिफिकेट प्राप्त गरेको छ । सोमबार सेन्सर पास भएसँगै अब यो चलचित्रलाई सबै उमेर समूहका दर्शकले परिवारसहित हलमा गएर हेर्न पाउने भएका छन् ।
२ घण्टा २२ मिनेट ३१ सेकेन्ड अवधिको चलचित्रको मुख्य आकर्षणका रुपमा दुई दशकपछि उत्तम प्रधान र निरुता सिंहको पुनरागमनलाई हेरिएको छ । पारिवारिक तथा सामाजिक विषयवस्तुमा बनेको ‘सारथी’लाई कुमार गजुरेलले निर्देशन गरेका हुन् भने कथा लेखन पनि गनुरेलले नै गरेका छन् ।
धीरज इन्फिनिटी फिल्म्ससँगको सहकार्यमा किम्भे प्रोडक्सनको प्रस्तुती रहेको चलचित्रमा उत्तम र निरुतासँगै मुकुन्द श्रेष्ठ, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशी, मदन थापा, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई र आशा विश्वकर्माको अभिनय रहेको छ । चलचित्रबाट गिरी विश्वकर्मा र गायत्री जोशीले नायक नायिकाका रूपमा डेब्यु गरेका हुन् ।
नेपाली चलचित्र क्षेत्रका अनुभवी सम्पादक तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ताको भूमिकामा रहेको चलचित्रलाई उनी आफैंले सम्पादन गरेका छन् । निर्माता रदिप श्रेष्ठ र प्रदिप रायमाझी हुन् भने बेक बहादुर कुमाई र नबीन श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रका सह निर्माताहरुमा अविनाश राइ, द्वारिका श्रेष्ठ र ओमिशान थापा छन् ।
लाइन प्रोड्युसर आमिर केसी रहेको चलचित्रमा बबुल गिरी र प्रशान्त शिवाकोटीको संगीत रहेको छ ।
चलचित्रमा बाबुल गिरी र प्रशान्त सिवाकोटीको संगीत, संकल भुजेलको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन र कविराज गहतराजको नृत्य निर्देशन रहेको छ ।
आरआर फिल्म्सले वितरण गर्न लागेको चलचित्र नेपालका दुर्गम पहाड, मौलिक संस्कृति र ग्रामीण जीवनको पृष्ठभूमिमा बनेको र गहिरो सामाजिक तथा भावनात्मक कथालाई जीवन्त रुप दिएको निर्माण पक्षले जनाएको छ । सारथी मूलतः माया, त्याग, पहिचान, संघर्ष र मानवीय संवेदनाको कथा रहेका कारण दर्शकमाझ लोकप्रिय हुने निर्माण पक्षको अपेक्षा छ ।