काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल र नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अलअन्सारीबीच शिष्टाचार भेटवार्ता भएको छ। भेटमा नेपाल–कतार द्विपक्षीय सम्बन्ध, आर्थिक सहकार्य, कतारमा कार्यरत नेपाली श्रमिकको हित तथा विभिन्न क्षेत्रमा लगानी विस्तारका विषयमा छलफल भएको छ।
भेटमा सभामुख अर्यालले सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि कायम रहेको नेपाल र कतारबीचको मैत्रीपूर्ण सम्बन्ध, आपसी विश्वास र सहकार्यलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए।
उनले कतारको आर्थिक विकासमा नेपाली श्रमिकले पुर्याउँदै आएको योगदानको चर्चा गर्दै उनीहरूको हकहित, सुरक्षा र मर्यादित वैदेशिक रोजगारी सुनिश्चित गर्न आवश्यक सहकार्य गर्न आग्रह गरे।
सभामुख अर्यालले नेपालमा जलविद्युत्, पर्यटन, कृषि, पूर्वाधार तथा सूचना प्रविधिलगायतका क्षेत्रमा कतारी लगानी भित्र्याउन पनि आग्रह गरे। नेपालको कृषि उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने सम्भावना उल्लेख गर्दै उनले फलफूल, तरकारी तथा अन्नलगायतका कृषि उपज कतार निर्यात गर्ने वातावरण निर्माणका लागि आवश्यक समन्वय गर्नुपर्ने बताए।
त्यसैगरी, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरवेजको उडान सञ्चालनका लागि पहल गर्न आग्रह गर्दै उनले हवाई सम्पर्क विस्तारमार्फत पर्यटन र व्यापार प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए। खेलकुदको विकास र प्रवर्द्धनमा समेत दुई देशबीच सहकार्य विस्तार गर्न उनले आग्रह गरे।
भेटका क्रममा सभामुख अर्यालले गत वर्ष भोटेकोशी नदीमा आएको बाढीपछि कतार सरकारले उपलब्ध गराएको मानवीय सहयोग, ऐक्यबद्धता र समवेदनाप्रति धन्यवाद व्यक्त गरे। उनले नेपालको पुनर्निर्माण तथा पुनःस्थापनामा कतारको थप सहयोगको अपेक्षासमेत व्यक्त गरे।
क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा दुई देशबीचको सहकार्यलाई निरन्तरता दिनुपर्ने उल्लेख गर्दै उनले विश्व शान्ति र स्थायित्वका लागि संवाद तथा कूटनीतिक पहललाई प्राथमिकता दिनुपर्ने धारणा राखे।
भेटमा कतारका राजदूत अन्सारीले नेपाल–कतार सम्बन्धलाई थप प्रगाढ बनाउन तथा आपसी हितका क्षेत्रमा सहकार्य विस्तार गर्न कतार सकारात्मक रहेको बताए।



