चार महिनापछि भगवान् विष्णु जागा भएको धार्मिक विश्वास, बूढानीलकण्ठमा राति १ः३० बजेदेखि दर्शन खुला; पाँच लाखभन्दा बढी भक्तजन आउने अनुमान
काठमाडौं । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका अवसरमा शुक्रबार बिहानैदेखि देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । चार महिनादेखि क्षीरसागरमा शयन गरेका भगवान् विष्णु आज जागा हुने धार्मिक विश्वासका साथ भक्तजनले विशेष पूजा, आराधना र तुलसी–दामोदर विवाह गरी पर्व मनाइरहेका छन् ।
काठमाडौँ उपत्यकाका चार नारायण—चाँगुनारायण, शेषनारायण, इचङ्गुनारायण र विशङ्खुनारायण मन्दिरमा बिहानैदेखि दर्शनार्थीको लाम लागेको छ । चारै नारायणको एकै दिन दर्शन तथा पूजा गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका कारण टाढाटाढाबाट समेत भक्तजन आएका छन् ।
चार नारायण पुग्न नसक्ने भक्तजन बूढानीलकण्ठस्थित नारायणस्थानमा दर्शनका लागि पुगेका छन् । यहाँ राति १ बजेदेखि नै भक्तजन आउन थालेपछि दशनामी मठले १ः३० बजेदेखि मन्दिरको ढोका खुला गरेको थियो । बिहान ६ बजेसम्म हजारौँ भक्तजनले विशेष पूजा तथा दर्शन गरिसकेको महन्त निगमानन्द स्वामीले जानकारी दिए ।
बूढानीलकण्ठमा आज पाँच लाखभन्दा बढी भक्तजनले दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको मठले जनाएको छ । आजदेखि कार्तिक शुक्ल पूर्णिमा अर्थात् मङ्सिर ८ गतेसम्म यहाँ विशेष मेला पनि सञ्चालन हुनेछ । जलकुण्डमाथि शयन गरिरहेको भगवान् नारायणको विशाल शिलामूर्ति यहाँको प्रमुख धार्मिक तथा पर्यटकीय आकर्षण हो । एउटै शिलामा हरि अर्थात् विष्णु र हर अर्थात् शिवको मूर्ति रहेकाले यस स्थानको विशेष धार्मिक महत्त्व रहेको विश्वास गरिन्छ ।
हरिबोधिनी एकादशीका दिन तुलसी र भगवान् दामोदर अर्थात् विष्णुको विवाह गर्ने वैदिक सनातनी परम्परा छ । आषाढ शुक्ल एकादशीका दिन क्षीरसागरमा शयन गरेका विष्णु कार्तिक शुक्ल एकादशीमा जागा हुने धार्मिक विश्वास भएकाले यसलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी भनिएको हो ।
हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीसम्म चार महिनासम्म घरघरमा रोपिएको तुलसीको विशेष पूजा गरिन्छ । यस अवधिलाई चतुर्मास भनिन्छ । विष्णु शयनमा रहने विश्वासका कारण यस अवधिमा विवाह, व्रतबन्धजस्ता माङ्गलिक कार्य नगर्ने परम्परा छ । हरिबोधिनी एकादशीसँगै चतुर्मासको समापन हुने र माङ्गलिक कार्य सुरु गर्ने समय आएको मानिन्छ ।
आज घरघरमा तुलसीको मठलाई गोबर र रातो माटोले पोतेर फूलमालाले सजाइन्छ । तुलसीलाई विष्णुप्रिया मानिने भएकाले दामोदरको प्रतीक स्थापना गरी विधिपूर्वक विवाह र पूजा गरिन्छ । तुलसीको मठ नजिकै निगालोको लिङ्ग गाडेर पूजा गर्ने चलन पनि छ । कार्तिक महिनाभर सबै देवदेवी तुलसीमा निवास गर्ने धार्मिक मान्यता रहेको धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईले बताएका छन् ।
यस दिन भगवान् विष्णुको मूर्तिलाई रथमा राखेर यात्रा गराउने तथा राति शङ्ख, घण्ट र ढोल बजाउँदै विष्णुलाई जगाउने परम्परा पनि छ । ‘गोविन्द उठ्नुस्, तपाईं सुते जगत् सुत्छ, तपाईं उठे जगत् उठ्छ’ भन्दै विष्णुको आराधना गरिन्छ । मानवका पाँच ज्ञानेन्द्रिय, पाँच कर्मेन्द्रिय र मन गरी ११ इन्द्रियलाई संयमित राख्ने धार्मिक मान्यतासँग पनि एकादशीको सम्बन्ध जोडिएको छ ।
एकादशीका दिन अन्न नखाई फलाहार गर्ने चलन छ । व्रतालुले सखरखण्ड, पिँडालु र वनतरुल उसिनेर खाने गर्छन् । किसानले उखुको बोट तुलसीको मठमा गाडेर पूजा गर्ने परम्परा पनि छ । यस दिन व्रत, स्नान, दान, जप र होम गर्दा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।
आज काठमाडौँ उपत्यकाका चार नारायणसहित चाँगुनारायण, बूढानीलकण्ठ, शेषनारायण, इचङ्गुनारायण र विशङ्खुनारायणमा विशेष मेला तथा पूजा भइरहेको छ । त्यस्तै, नारायणहिटी दरबार क्षेत्रको चतुर्व्यूह नारायण मन्दिर, हाँडीगाउँ, हनुमानढोका, पशुपति क्षेत्र र गोकर्णेश्वरको नारायणटारस्थित नारायण मन्दिरमा पनि भक्तजनको भीड लागेको छ ।
बूढानीलकण्ठमा हरिबोधिनी एकादशीको अवसरमा मङ्सिर ८ गतेसम्म श्रीमद्भागवत कथा वाचनसहित धार्मिक महोत्सव सञ्चालन हुनेछ । देशका विभिन्न नारायण मन्दिरमा पनि विशेष पूजा तथा धार्मिक कार्यक्रम आयोजना गरी पर्व मनाइँदैछ ।



