Liquidity Overflow! बैंकिङ प्रणालीबाट रु. २ खर्ब खिच्दै राष्ट्र बैंक

बैंक/वित्त

काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम पर्याप्त भएपछि नेपाल राष्ट्र बैंकले फेरि २ खर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले ९२ दिनका लागि निक्षेप संकलन उपकरण जारी गर्दै बैंक तथा वित्तीय संस्थाबाट उक्त रकम खिच्न लागेको हो।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले मंसिर १ गते सोमबार दिउँसो २ बजेसम्म अनलाइन बोलकबोलमार्फत निक्षेप संकलन गर्ने जनाएको छ। निक्षेप संकलन उपकरणको निष्कासन पनि सोही दिन हुनेछ। यसमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्रै सहभागी हुन पाउनेछन्।

निक्षेप संकलनको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ। सहभागी बैंक तथा वित्तीय संस्थाले आफूले जम्मा गर्न चाहेको रकम र ब्याजदर उल्लेख गरी बोल पेस गर्नुपर्नेछ। न्यूनतम १० करोड रुपैयाँ र त्यसपछि १० करोड रुपैयाँले भाग जाने रकमका लागि बोल गर्न सकिनेछ।

बोलकबोलबाट प्राप्त प्रस्तावमध्ये सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता दिँदै क्रमशः रकम बाँडफाँट गरिनेछ। एउटै ब्याजदरमा परेको बोल रकम जोड्दा कुल निष्कासित रकमभन्दा बढी भएमा समानुपातिक आधारमा बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ।