सुक्खायाम सुरु भएसँगै बंगलादेशतर्फको बिजुली निर्यात बन्द

Headlines आर्थिक

वर्षायाममा पाँच महिनासम्म दैनिक ४० मेगावाट निर्यात, अब अर्को वर्ष जुन १५ देखि मात्रै पुनः सुरु 

काठमाडौं । सुक्खायाम सुरु भएसँगै नेपालबाट बंगलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत् निर्यात बन्द भएको छ। नेपाल विद्युत् प्राधिकरणले सम्झौताअनुसार नोभेम्बर १५ सम्म मात्रै विद्युत् निर्यात गर्ने भएकाले आइतबारदेखि निर्यात रोकिएको हो।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले अब अर्को वर्ष मात्रै बंगलादेशतर्फ विद्युत् निर्यात हुने बताए। सुक्खायाम सुरु भएसँगै जलविद्युत् उत्पादन घट्ने र आन्तरिक माग बढ्ने भएकाले निर्यात गर्न नसकिने अवस्था आएको उनले बताए।

चाडपर्व र सार्वजनिक बिदा सकिएसँगै उद्योग तथा कलकारखानामा विद्युत् खपत बढ्ने प्राधिकरणको अनुमान छ। अहिले विद्युत् प्रणालीको माग १ हजार ८०० देखि १ हजार ९०० मेगावाट रहेकोमा अब बढेर २ हजार ४०० देखि २ हजार ५०० मेगावाटसम्म पुग्ने अनुमान गरिएको छ। तर, उपलब्ध विद्युत् उत्पादन क्षमता २ हजार ६०० देखि २ हजार ७०० मेगावाटको हाराहारीमा मात्रै रहेको श्रेष्ठले बताए।

उनका अनुसार आन्तरिक माग बढ्दै जाँदा भारततर्फ भइरहेको विद्युत् निर्यात पनि घट्नेछ। अबको एक सातादेखि १० दिनभित्र भारतबाट विद्युत् आयात गर्नुपर्ने अवस्था आउन सक्ने उनले बताए।

नेपाल विद्युत् प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच २०८१ असोज १७ गते पाँचवर्षे विद्युत् बिक्री सम्झौता भएको थियो। सम्झौताअनुसार नेपालले प्रत्येक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म दैनिक ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्दै आएको छ। भारतको प्रसारण संरचना प्रयोग गरेर नेपालबाट बंगलादेशमा बिजुली पठाइन्छ।

यस वर्ष भदौ १० गते आएको भोटेकोसी बाढीका कारण त्रिशूली र चिलिमे जलविद्युत् केन्द्रमा क्षति पुगेपछि बंगलादेशतर्फको विद्युत् निर्यात रोकिएको थियो। ती आयोजनाबाट उत्पादन हुने बिजुली निर्यातका लागि स्वीकृति पाएको थियो। पछि भारतको केन्द्रीय विद्युत् प्राधिकरणले अन्य आयोजनाबाट उत्पादित बिजुली निर्यात गर्न स्वीकृति दिएपछि कात्तिक ६ गतेदेखि निर्यात पुनः सुरु भएको थियो।

नयाँ व्यवस्थाअनुसार सोलु, काबेली–१ र तल्लो मोदी जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली निर्यातका लागि स्वीकृति प्राप्त भएको थियो।

यसैबीच, प्राधिकरणले गत असोजमा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको थियो। प्राधिकरणको भार प्रेषण केन्द्रका अनुसार उक्त अवधिमा भारततर्फ ६३ करोड ३९ लाख ८६ हजार ८ युनिट विद्युत् निर्यात भएको थियो। अघिल्लो वर्षको असोजमा यस्तो निर्यातबाट ४ अर्ब ९६ करोड ३० लाख रुपैयाँ आम्दानी भएको थियो।

हाल भारततर्फ निर्यातका लागि स्वीकृति प्राप्त कुल विद्युत् क्षमता १ हजार १७९ मेगावाट पुगेको छ। तर, सुक्खायाममा उत्पादन घट्ने र आन्तरिक खपत बढ्ने भएकाले अब भारततर्फको निर्यात पनि क्रमशः घट्ने प्राधिकरणको अनुमान छ।