राष्ट्र बैंकका गभर्नर पौडेललाई ग्लोबल फाइनान्सको ‘बी’ ग्रेड, अधिकारीको भन्दा एक तह माथि

Headlines बैंक/वित्त

मौद्रिक नीति, वित्तीय क्षेत्रको नियमन र आर्थिक स्थायित्वका आधारमा मूल्यांकन; सन् २०२६ को प्रतिवेदनमा डेनमार्क र पेरुका गभर्नर उत्कृष्ट

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले अन्तर्राष्ट्रिय वित्तीय प्रकाशन संस्था ग्लोबल फाइनान्सको सन् २०२६ को वार्षिक मूल्यांकनमा ‘बी’ ग्रेड प्राप्त गरेका छन्। यो पूर्वगभर्नर महाप्रसाद अधिकारीले सन् २०२४ मा पाएको ‘सी प्लस’ भन्दा एक तह माथि हो।

ग्लोबल फाइनान्सले सन् २०२५ जुलाई १ देखि २०२६ जुन ३० सम्मको अवधिलाई आधार बनाएर विश्वका विभिन्न देशका केन्द्रीय बैंकका गभर्नरहरूको कार्यसम्पादन मूल्यांकन गरेको हो। मौद्रिक नीतिको प्रभावकारिता, वित्तीय क्षेत्रको नियमन तथा सुपरिवेक्षण, नीतिगत पारदर्शिता, केन्द्रीय बैंकको स्वायत्तता, आर्थिक पूर्वानुमान र राष्ट्रिय आर्थिक लक्ष्य प्राप्तिमा पुर्‍याएको योगदानलाई मूल्यांकनको आधार बनाइएको छ।

प्रतिवेदनमा गभर्नरहरूलाई ‘ए प्लस’देखि ‘एफ’सम्मका ग्रेड दिइएको छ। ‘ए प्लस’ उत्कृष्ट र ‘एफ’ सबैभन्दा कमजोर कार्यसम्पादनको सूचक हो। यस मूल्यांकनमा गभर्नर पौडेलले ‘बी’ ग्रेड पाएका हुन्।

सन् २०२५ मेमा गभर्नर नियुक्त भएका पौडेलको कार्यकालको प्रारम्भिक अवधिमा नेपालको बाह्य आर्थिक स्थायित्वमा सुधार देखिएको प्रतिवेदनमा उल्लेख छ। मुद्रास्फीति तुलनात्मक रूपमा न्यून रहँदा राष्ट्र बैंकले आर्थिक गतिविधिलाई सहयोग पुग्ने गरी मौद्रिक नीति अवलम्बन गरेको पक्षलाई पनि सकारात्मक रूपमा मूल्यांकन गरिएको छ।

प्रतिवेदनअनुसार राष्ट्र बैंकले नीतिगत दर ४.२५ प्रतिशत र बैंक दर ५.७५ प्रतिशत कायम गरेको थियो। आर्थिक गतिविधिलाई सहयोग पुग्ने गरी मौद्रिक नीतिमा लिइएको लचिलो दृष्टिकोणलाई नेपालको मूल्यांकनमा सकारात्मक पक्षका रूपमा हेरिएको छ।

अधिकारीको कार्यकालमा तीन फरक ग्रेड

पूर्वगभर्नर महाप्रसाद अधिकारीले ग्लोबल फाइनान्सको यसअघिका मूल्यांकनमा फरक–फरक ग्रेड प्राप्त गरेका थिए। उनले सन् २०२२ मा ‘सी’, २०२३ मा ‘बी माइनस’ र २०२४ मा ‘सी प्लस’ ग्रेड पाएका थिए।

यसपटक पौडेलले ‘बी’ ग्रेड प्राप्त गरेपछि नेपालको मूल्यांकन एक तह माथि पुगेको छ। तर फरक गभर्नर र फरक समयावधिमा गरिएको मूल्यांकन भएकाले यसलाई दुई गभर्नरको कार्यसम्पादनको प्रत्यक्ष तुलना भने मान्न मिल्दैन।

डेनमार्क र पेरुका गभर्नर उत्कृष्ट

ग्लोबल फाइनान्सको सन् २०२६ को ‘सेन्ट्रल बैंकर रिपोर्ट कार्ड’मा डेनमार्क र पेरुका गभर्नरले सबैभन्दा उच्च ‘ए प्लस’ ग्रेड प्राप्त गरेका छन्। चिली, कोस्टारिका, ग्वाटेमाला, भारत, जमैका, पाराग्वे, सिंगापुर र दक्षिण अफ्रिकाका गभर्नरले ‘ए’ ग्रेड पाएका छन्।

अल्बानिया, अर्जेन्टिना, कम्बोडिया, चेक गणतन्त्र, डोमिनिकन गणतन्त्र, केन्या, कुवेत, मोरक्को, फिलिपिन्स, पोल्यान्ड, सर्बिया, स्विट्जरल्यान्ड, ताइवान र संयुक्त अरब इमिरेट्सका गभर्नरले ‘ए माइनस’ ग्रेड प्राप्त गरेका छन्।

अस्ट्रेलिया, बहामास, ब्राजिल, क्यानडा, चीन, कोलम्बिया, इजिप्ट, नाइजेरिया, श्रीलंका, जाम्बिया, अजरबैजान, बुल्गेरिया, युरोपेली संघ, हंगेरी, नर्वे, जोर्डन र साउदी अरेबियाका गभर्नरले ‘बी प्लस’ ग्रेड पाएका छन्।

नेपालसँगै आर्मेनिया, बोस्निया तथा हर्जगोभिना, बहराइन, कतार, स्विडेन, टर्की र बेलायतका गभर्नरले ‘बी’ ग्रेड प्राप्त गरेका छन्।