बझाङको बुंगलमा अटो दुर्घटना : तीन जनाको मृत्यु

Headlines समाचार

बझाङ । बझाङको बुंगल नगरपालिका–१०, टुमेडामा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक बालक बेपत्ता भएका छन्।

सोमबार बिहान करिब १०ः२० बजे टुमेडा गाउँबाट वडा नं. ११ स्थित हिड्नेगडा बजारतर्फ जाँदै गरेको नम्बर नखुलेको अटोको ब्रेक फेल भएपछि सडकबाट करिब ९०० मिटर तल भिरमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक उपेन्द्र तिमिल्सेनाले जानकारी दिए।

दुर्घटनामा बुंगल नगरपालिका–१० निवासी करिब ३५ देखि ४० वर्षीया राजमति महरा, १५ देखि १६ वर्षीया तारा महरा र ५ देखि ६ वर्षीया डल्ली महराको मृत्यु भएको प्रहरीले जनाएको छ। अटोमा चालकसहित चार जना सवार रहेको र दुर्घटनापछि एक बालक बेपत्ता भएको जनाइएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट पुतलीलेकबाट प्रहरी सहायक हवल्दार उत्तम सिंह बोहराको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनास्थल प्रहरी पोस्टबाट करिब एक घण्टाको पैदल दूरीमा रहेको प्रहरीले जनाएको छ।

बेपत्ता बालकको खोजी कार्य जारी रहेको र घटनाबारे थप अनुसन्धान तथा विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

जगदीश रोकाया बझाङ