काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले स्वर्गीय पद्मरत्न तुलाधरले नेपाली समाज, भाषा, राजनीति, आदिवासी जनजातिको अधिकार र मानव अधिकारका क्षेत्रमा पु¥याएको योगदानलाई नयाँ पुस्तासम्म पु¥याउन आवश्यक रहेको बताएकी छन् ।
पद्मरत्न तुलाधरको आठौँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख डंगोलले तुलाधरको जीवन, संघर्ष र योगदानबाट वर्तमान पुस्ताले धेरै कुरा सिक्न सक्ने बताइन् ।
उनले तुलाधरलाई भाषा प्रेमीहरूका लागि प्रेरणाको स्रोतका रूपमा स्मरण गर्दै नेपाल भाषाको संवद्र्धन र प्रवद्र्धनमा उहाँले निर्वाह गरेको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरिन् । उनले राजनीतिक क्षेत्रमा उहाँले देखाएको भूमिका, विचारमा मतभेद भए पनि संवाद र विमर्शमार्फत शान्तिको बाटो रोज्नुपर्ने सन्देश आज पनि उत्तिकै सान्दर्भिक रहेको बताइन् ।
‘विचारमा फरक हुन सक्छ, मतभेद हुन सक्छन्, तर राष्ट्रका लागि एकजुट भएर शान्ति प्रक्रियामा अघि बढ्नुपर्छ भन्ने उहाँको सन्देश आज पनि महत्त्वपूर्ण छ,’ डंगोलले भनिन् ।
डंगोलले तुलाधरले आदिवासी जनजातिका अधिकार तथा मानव अधिकारका क्षेत्रमा उठाएका मुद्दाहरू अझै पूर्ण रूपमा सम्बोधन हुन नसकेको बताइन् । उहाँले सुरु गरेका आन्दोलन र उठाएका सवालहरू आज पनि जीवन्त रहेकाले त्यसलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिइन् ।
विशेषगरी युवा पुस्तालाई तुलाधरको योगदान र नेपालको शान्ति प्रक्रियाको इतिहासबारे जानकारी गराउनुपर्ने उनले बताइन् । अहिलेको पुस्ताले विगतको द्वन्द्व र शान्ति प्रक्रियाका चुनौतीहरू प्रत्यक्ष अनुभव नगरेको उल्लेख गर्दै उनले ती कठिन परिस्थितिमा एक व्यक्तिले पनि समाज र राष्ट्रको दिशामा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने उदाहरण तुलाधरको जीवनबाट सिकाउनुपर्ने बताइन् ।
यसैबीच, काठमाडौं महानगरपालिकाले तुलाधरको जीवनी प्रकाशन तथा त्यसलाई नयाँ पुस्ताले बुझ्ने माध्यमबाट प्रस्तुत गर्ने कार्यमा सहकार्य गर्न तयार रहेको डंगोलले बताइन् । महानगरपालिकाको अघिल्लो कार्यकालमा सुरु भएको जीवनी तथा पुस्तक प्रकाशनको पहललाई निरन्तरता दिन पाउँदा खुसी लागेको उनले बताइन् ।
उनले पद्मरत्न तुलाधर प्रतिष्ठानलाई उहाँको जीवनी सरल भाषा र नयाँ पुस्ताले बुझ्ने माध्यमबाट प्रस्तुत गर्न विशेष आग्रहसमेत गरिन् ।
‘इतिहास बिर्सिँदै गएको समयमा इतिहास सम्झाउन र त्यसका महत्त्वपूर्ण पक्षलाई नयाँ पुस्ताले बुझ्ने गरी प्रस्तुत गर्न जरुरी छ,’ उनले भनिन्, ‘यसले उहाँले उठाउनुभएका मुद्दा र गर्नुभएका योगदानलाई जीवित राख्नुका साथै वर्तमान पुस्ताको काममा समेत प्रतिबिम्बित गर्न सहयोग पुग्नेछ।’
डंगोलले स्वर्गीय पद्मरत्न तुलाधरको सत्कर्म र उहाँले देखाएको मार्गलाई आत्मसात् गर्दै समाज र राष्ट्रका लागि योगदान गर्न सबैलाई आग्रह गर्दै श्रद्धाञ्जली व्यक्त गरिन् ।



