असर्फी किन्न राष्ट्र बैंकमा ग्राहकको भीड, दोस्रो दिन पनि सुन सकिएपछि चाँदी मात्रै बिक्री

Headlines अर्थ बैंक/वित्त

माग धान्न नसकेपछि शुक्रबार पनि सुनको असर्फी बिक्री नहुने, चाँदीका मेडालियन मात्रै बेचिने

काठमाडौं । तिहारका लागि नेपाल राष्ट्र बैंकले बिक्री खुला गरेको सुनको असर्फी खरिद गर्न ग्राहकको अत्यधिक चाप भएपछि लगातार दोस्रो दिन पनि सुनको असर्फी बिक्री नहुने भएको छ । राष्ट्र बैंकले शुक्रबार चाँदीका मेडालियन मात्रै बिक्री गर्ने भएको छ ।

राष्ट्र बैंकको टक्सार महाशाखाले सूचना जारी गर्दै शुक्रबार सुनको असर्फी र चाँदीका मेडालियन बिक्री गर्ने जनाएको थियो । तर बिहीबार असर्फी खरिद गर्न ग्राहकको अत्यधिक भीड लागेपछि शुक्रबारका लागि सुनको मौज्दात अपुग हुने भएको हो ।

राष्ट्र बैंकका अनुसार शुक्रबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मौज्दात कायम रहेसम्म चाँदीका मेडालियन बिक्री गरिनेछ । एक व्यक्तिले कम्तीमा एक र बढीमा दुई थानसम्म मेडालियन खरिद गर्न पाउनेछन् ।

मेडालियन खरिद गर्न नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा नम्बर उल्लेख भएको अन्य परिचयपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुनुपर्नेछ । यसको भुक्तानी नगद वा क्यूआरमार्फत गर्न सकिनेछ ।

चाँदीका मेडालियनको मूल्य दैनिक बिहान करिब ११ बजेपछि निर्धारण हुने भएकाले मूल्य तय भएपछि मात्रै बिक्री सुरु हुने राष्ट्र बैंकले जनाएको छ ।